काठमाडौं। ब्राजिलका स्टार खेलाडी नेयमारले यो महिना हुने फिफा विश्वकप छनोटका खेल गुमाउने भएका छन्। ब्राजिलले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल्दा ३३ वर्षीय नेयमार अनुपस्थित रहनेछन्।
दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाँचौं स्थानमा छ। मार्च २० मा ब्राजिलले कोलम्बियालाई आफ्नै मैदानमा स्वागत गर्नेछ। मार्च २५ मा अर्जेन्टिनासँगको खेलका लागि ब्राजिलले ब्युनस आयर्स यात्रा गर्नेछ।
अक्टोबर २०२३ मा उरुग्वेविरुद्ध खेल्दा एसिएल चोट बोकेको कारण नेयमार लामो समय मैदानबाहिर रहनुपरेको थियो। उनी करिब १७ महिनापछि मार्चमा ब्राजिलको टोलीमा फर्किएका थिए।
शुक्रबार ब्राजिलका मुख्य प्रशिक्षक डोरिभाल जुनियरले ब्राजिल फुटबल महासंघद्वारा प्रकाशित भिडियोमा नेयमार, गोलकिपर एडर्सन र डिफेन्डर डानिलो फिट नभएको पुष्टि गरे।
नेयमार जनवरीमा सान्तोसमा पुनः फर्किएका थिए। उनले पछिल्लो खेल मार्च २ मा खेलेका थिए। तर, चोट लागेपछि उनी प्रतिस्थापन भएका थिए। त्यसपछि उनले कोरिन्थियन्सविरुद्धको साओ पाउलो राज्य च्याम्पियनसिप सेमिफाइनल खेल गुमाए।
रियल मड्रिडका युवा स्ट्राइकर एन्ड्रिकलाई नेयमारको स्थानमा टोलीमा बोलाइएको छ। गोलकिपर एडर्सनको स्थानमा लियोनका लुकास पेर्री छनोट भएका छन् भने डिफेन्डर डानिलोलाई फ्लामेङ्गोका एलेक्स स्यान्ड्रोले प्रतिस्थापन गर्नेछन्।