काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता ललितपुर एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भिड्ने भएका छन्।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) शुक्रबार खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्रतियोगिता चैत १६ देखि बैशाख १३ गतेसम्म हुने तय छ। ललितपुर र काठमाडौं खेल साँझ ६ बजे हुनेछ।
बैशाख ४ गतेसम्म सिंगल राउन्ड रोबिनमा लिग चरणका खेल हुनेछन्। २१ खेल हुनेछन्। प्रतियोगितामा यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले पक्का गरिसकेको छ।
वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने तेस्रो संस्करण नखेल्ने भएका छन्। सहभागी सात टोलीले प्रशिक्षक, मार्की, कप्तान र खेलाडी अनुबन्ध गरिसकेका छन्। केही टोलीले भने नियमित प्रशिक्षणसमेत थालिसकेका छन्।
लिग चरणका उत्कृष्ट दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। यो खेल बैशाख ६ गते हुनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछन्।
पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पहिलो क्वालिफायरमा पराजित भएको टोली र दोस्रो क्वालिफायर विजेता टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीले फाइनलमा स्थान बनाउने छ।
दोस्रो क्वालिफायर बैशाख ७ गते हुनेछ। इलिमिनेटर बैशाख १० र फाइनल बैशाख १३ गते हुने आयोजकले जनाएको छ।