काठमाडौं । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा आर्मीले थ्री स्टारलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको हो । आर्मीले गत शनिबार सिमरा गोल्डकपको फाईनलमा थ्री स्टारसंग ब्यहोरेको हारको बदला समेत लिएको छ ।
आर्मीलाई महत्वपुर्ण जित दिलाउन गोलरक्षक विकेश कुथुले थ्री स्टारका तिन पेनाल्टी प्रहार रोके । उनले रन्जित धिमाल, रूपेश के सि र बुद्व चेम्जोङको प्रहार विफल बनाएका थिए । यता थ्री स्टारकाे लागी एक मात्रै गाेल कप्तान विक्रम लामाले गरे ।
त्रिभुवन आर्मीको लागी कप्तान भरत खवास, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । दिप लामाको पेनाल्टी प्रहार भने बाहिरिएको थियो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
कप्तान भरत खवासले ५७ औ मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । थ्री स्टारले ७० औ मिनेटमा बराबरी गोल फर्कायो । बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका बुद्व चेम्जोङले मिलाएकेा बलमा थ्री स्टारका लागि डिफेन्डर अनन्त तामाङले गोल गरे ।
खेलको तेस्रो मिनेटमा आर्मीका सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकले पोस्टको दिशा लिन सकेन ।
२० औ मिनेटमा थ्री स्टारका रन्जित धिमालले डिबक्स नजिकैबाट प्रहार गरेको फ्रिकिक क्रसबार माथीबाट बाहिरियो ।
३१ मिनेटमा सुनिल बलको दायाँ कर्नरबाट हानेको फ्रिकिकमा शुशिल राईको हेडिङ पोस्ट नजिकैबाट बाहिरियो ।
खप्तड गोल्डकप र सिमरा गोल्डकपमा प्रयोग गरिएका दुई विदेशी खेलाडीलाई थ्रीस्टारले प्रयोग गरेको थिएन । प्रतियोगिताका लागि थ्री स्टारले रेजिन सुब्बालाई टिममा झिकाएको थियो ।
खेलको ६६ मिनेटमा भरत खवासले काउन्टरमा ल्याएको बललाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट बचाउ गरेका थिए । ६८ मिनेटमा थ्रीस्टारका सुनिल बलले डिबक्स भित्रबाट हानेको फ्रिकिक पहिलो बार नजिकैबाट बाहिरिएको थियो ।
खेलको म्यान अफ दी म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले १० हजार प्राप्त गरे ।
थ्रीस्टार गत वर्षको विजेता टिम हो । ८ क्लब सम्मिलित प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।