काठमाडौं। विभागीय डर्बीमा एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।
शुक्रबार सम्पन्न खेलमा पुलिस दुई विकेटले विजयी भएको हो। जितसँगै पुलिसले तीन खेलबाट ६ अंक पुर्याएको छ। यसअघि पुलिसले लुम्बिनीलाई ८७ र कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको थियो। एपिएफको भने यो पहिलो हार हो।
यसअघि एफिएफले बागमतीलाई १०० रन र मधेशलाई दुई विकेटले पराजित गरेको छ। एपिएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याएको पुलिसले २६.२ ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो।
पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए। ५७ बल खेलेका उनले दुई चौका प्रहार गरे। अर्जुन साउद ११ र रशिद खान १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
एपिएफका भुवन कार्कीले सर्वाधिक तीन विकेट लिए। सात ओभर बलिङ गरेका उनले तीन मेडन राख्दै ३३ रन खर्चिए। अभिषेक गौतम र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए। कमलसिंह ऐरीको नाममा एक विकेट रह्यो।
त्यसअघि दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २७.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो।
एपिएफका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। २९ बल खेलेका उनले चार चौका प्रहार गरे। लोकश बम २२ र अमर रौटेला १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पुलिसका ललितनारायण राजवंशीले सर्वाधिक ६ विकेट लिए। ७.४ ओभर बलिङ गरेका उनले तीन मेडनसहित १८ रन खर्चिए। सागर ढकाल, करण केसी, गुल्शनकुमार झा र कुशल भुर्तेलले समान एक विकेट लिए।