काठमाडौं। निकोलस (निको) विलियम्सको दुई गोलको मद्दतले एथ्लेटिक बिल्बाओले एएस रोमालाई ३–१ ले पराजित गर्दै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो भने लाजियोले विक्टोरिया प्लजेनसँग १–१ को बराबरी खेल्दै अन्तिम आठमा स्थान बनाएको छ।
लाजियोले बोडो/ग्लिम्टसँग खेल्नेछ, जसले ओलिम्पियाकोससँग २–१ को हार बेहोरे तापनि समग्रमा ४–२ को जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो। यसैबीच फ्रान्कफर्टले अजाक्सलाई ४–१ ले हराउँदै सहज रूपमा अन्तिम आठमा स्थान बनायो।
पहिलो लेगमा २–१ ले पछि परेको बिल्बाओ खेलको सुरुआतमै फाइदा उठाउन खोजेको थियो। ११औं मिनेटमै रोमाका माट्स हुम्मेल्सले मारोआन सानादीलाई फल गरेपछि रातो कार्ड पाए, जसले रोमालाई १० खेलाडीमा सीमित गर्यो।
विलियम्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै समग्र स्कोर बराबरी गरे। उनको शट रोमाका खेलाडी एन्जेलिनोमा लागेर डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो।
खेलमा २२ मिनेट बाँकी रहँदा युरी बर्चिचेले कर्नरबाट हेड गर्दै बिल्बाओलाई अग्रता दिलाए। खेल सकिनै लाग्दा विलियम्सले पुनः अर्को गोल थपे। रोमाका लियान्द्रो पाराडेसले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए, जसले खेललाई रोमाञ्चक बनाए तापनि बिल्बाओले समग्रमा ४–३ को जित निकाल्यो।
लाजियोको संघर्षपूर्ण प्रवेश
पहिलो लेगमा २–१ को जित निकालेको लाजियो दोस्रो लेगमा प्लजेनसँग उस्तै संघर्ष गर्नुपर्यो। खेलको दोस्रो हाफमा पावेल सुल्चले राफियु डुरोसिन्मीको पासमा गोल गर्दै समग्र स्कोर बराबरी गरे।
तर, ७७औं मिनेटमा एलिसियो रोमाग्नोलीले कर्नरबाट हेडर गर्दै लाजियोलाई ३–२ को समग्र जित दिलाए।
फ्रान्कफर्टको सहज जित
पहिलो लेगमा २–१ को अग्रता लिएको फ्रान्कफर्टले अजाक्सलाई २५ मिनेटभित्रै दुई गोल गर्दै खेल आफ्नो पक्षमा ल्यायो।
जिन बाहोया र मारियो गोत्जेले गोल गर्दै फ्रान्कफर्टलाई सहज अग्रता दिलाए। अजाक्सका लागि केनेथ टेलरले सान्त्वना गोल फर्काए तापनि गोत्जेले पुनः अर्को गोल गर्दै फ्रान्कफर्टलाई समग्रमा ६–२ को जित दिलाए।