काठमाडौं। कप्तान ब्रुनो फर्नान्डेजको ह्याट्रिकसँगै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ।
बिहीबार सम्पन्न खेलमा युनाइटेडले १० खेलाडीमा सीमित रियल सोसिडाडविरुद्ध ४–१ को जित निकालेको हो।
‘टोलीले उत्कृष्ट प्रदर्शन गर्यो। रेड कार्ड नभए पनि हामीले जित्ने संकेत गरिरहेका थियौं,’ खेलपछि युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले भने।
फर्नान्डेजले दुईवटा पेनाल्टी गोल गर्दै ८७औं मिनेटमा ह्याट्रिक पूरा गरे। डियोगो डालोटले अन्तिम समयमा चौथो गोल थप्दै युनाइटेडलाई ५–२ को समग्र जित दिलाए।
तर, खेलको १०औं मिनेटमा मिकेल ओयारजाबलले पेनाल्टीबाट गोल गर्दै रियल सोसिडाडलाई अग्रता दिलाएका थिए।
६३औं मिनेटमा जोन आराम्बुरुले सिधै रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भयो, जसले युनाइटेडलाई सहज जिततर्फ अघि बढायो।