एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भारतीय क्रिकेटर अम्बाती रायडुलाई अन्तराष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरेको छ । सिड्नीमा भएको एकदिवसीय खेलमा पार्ट टाईम बलिङ गरेका रायडुको बलिङ एक्सनलाई लिएर प्रश्न उठेको थियो ।
रायडुले सिड्नीमा भएको एकदिवसीय क्रिकेटमा दुई ओभर बलिङ गरेका थिए । र उनले विना विकेट १३ रन खर्चेका थिए ।
रायडु अहिले न्युजिल्याण्ड भ्रमणमा भारतबाट राम्रो ब्याटिङ गरिरहेका छन् । आईसीसीले सोमबार एक ट्वीट गर्दै सो जानकारी दिएको हो । आईसीसीले भनेको छ, ‘आईसीसीबाट दिएको १४ दिनको समयमा रायडु आफ्नो बलिङ रिपोर्ट पेश गर्न असफल भएका छन् । सोही कारण परिषद्को नियमावली अनुसार उनलाई निलम्बन गरिएको छ ।’
‘रायडुमाथिको निलम्बन त्यो बेला सम्म जारी रहन्छ, जति बेलासम्म उनको बलिङको परिक्षण हुदैन र उनी बलिङका लागि सक्षम मानिदैनन् ।’ आईसीसीले थपेको छ ।
आईसीसीले घरेलु क्रिकेटमा भने रायडुलाई बलिङ गर्न पाउने अनुमती दिएको छ । भारतीय टिमका २३ बर्षका खेलाडी रायडु भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार घरेलु क्रिकेटमा बलिङलाई निरन्तरता दिन सक्नेछन् ।
रायडुले भारतीय टिममा मध्यक्रमबाट ब्याटिङ गरिरहेका छन् । आईसीसीले बलिङ गर्ने क्रममा बलरले आफ्नो हात १५ डिग्री भन्दा धेरै घुमाएको खण्डमा अवैध मान्ने गरेको छ ।