काठमााडौं। नेपोलीले आइतबार फियोरेन्टिनालाई २–१ ले हराउँदै सिरी ‘ए’ लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ।
रोमेलु लुकाकुले एक गोल गरे र अर्को गोलको लागि गियाकोमो रास्पाडोरीलाई असिस्ट गर्दै नेपोलीलाई इन्टरसँगको अंक दूरी एकमा झार्न मद्दत गरे। इन्टरले शनिबार मोन्जाविरुद्ध ३–२ को रोमाञ्चक जित हात पारेको थियो।
नेपोली पछिल्लो पाँच खेलमा चार बराबरी र एक हारसँग गुज्रिएको थियो। तर, आइतबार घरेलु मैदानमा उसले सानदार जित निकालेको छ।
योसँगै नेपोलीको २८ खेलबाट ६० अंक पुगेको छ। समान खेलबाट इन्टरको ६१ अंक छ।
२६औं मिनेटमा स्कट म्याकटोमिनेको प्रहार म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर डेविड डे हेआले बचाउन सकेनन्। उनले फर्काएको बललाई लुकाकुले सजिलै ट्याप इन गर्दै गोलमा परिणत गरे।
दोस्रो हाफमा लुकाकुले सुन्दर पास दिँदै रास्पाडोरीलाई ६०औं मिनेटमा गोल गर्ने मौका जुराए। ६ मिनेटपछि फियोरेन्टिनाले एक गोल फर्कायो, जहाँ मोइसे किनले ब्याकहिल पास दिँदै अल्बर्ट गुडमुनड्सनलाई बल उपलब्ध गराएका थिए।