बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि कोहलपुर रेसिङ साहारा क्लब र राईजिङ स्टार फुटबल क्लब नवलपरासी भिड्दै छन् ।
शनिबार हुने फाइनलमा साहारा क्लब र राईजिङ स्टार क्लब नवलपरासी उपाधिका लागि भिड्न लागेको हुन् ।
कोहलपुर रेसिङ साहारा क्लब बाँकेको आयोजनामा फागुन १७ देखि सुरु भएको गोल्डकपमा दुवै टोली कुनैपनि प्रतियोगितामा पहिलोपटक फाइनलमा आमनेसामने हुँदैछन् ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल पूर्व शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र टिम प्रशिक्षकले आफूले उपाधि जित्नको लागि खेल्ने बताएका थिए ।
आयोजक कोहलपुर रेसिङ साहारा क्लबका कोच रामजित चौधरीले पहिलोपटक फाइनल प्रवेश गरेको र उपाधि जित्ने बताएका थिए । आफ्नो टोली उत्कृष्ट लयमा रहेको भन्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताए ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि जित्ने आफूहरुको एकमात्र लक्ष्य रहेको कोहलपुर रेसिङ साहारा क्लबका कप्तान निराजन शाहीको भनाइ थियो ।
पत्रकार सम्मेलनमा बोल्दै राईजिङ स्टार फुटबल क्लब नवलपरासीका टिम म्यानेजर धर्मेन्द्र अग्रहरीले आफ्नो टोलीले ट्रफी लिने उद्देश्यसहित फाइनल खेल्ने बताए ।
नवलपरासी कप्तान विनोद केवटले आयोजक क्लबलाई दर्शक र घरेलु मैदानको सहजता भएपनि आफ्नो टिम एकताबद्ध भएकाले निर्धारित समयमै जित्ने गरेर फाइनल खेल्ने बताएका थिए ।
कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री दुवै टोलीलाई जितको अग्रिम शुभकामना व्यक्त गरे ।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपका खेल संयोजक कर्ण बस्नेतका अनुसार फाइनलमा प्रति व्यक्ति एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।
बृद्धबृद्धा र बालबालिकाको हकमा फाइनलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।