काठमाडौं। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय आक्रमणकारी मिडफिल्डर कोल पाल्मरले गत सिजन इङ्लिस प्रिमियर लिगमा २७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
तर, यस सिजन उनले पछिल्ला आठ खेलमा कुनै गोल गर्न सकेका छैनन् र केही उत्कृष्ट अवसर गुमाएका छन्। गोल खडेरीका कारण उनको मनोबल नै गिरेको चर्चा इङ्लिस फुटबलमा हुन थालेको छ।
तर, चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्काले भने यस घटनाले उनलाई कुनै असर नपारेको दाबी गरेका छन्। प्रिमियर लिगअन्तर्गत लेस्टर सिटीविरुद्धको खेलअघि उनले पाल्मरको आत्मविश्वास यथावत रहेको बताएका हुन्।
‘गोल गर्दा तपाईलाई खुसी लाग्छ। किनभने तपाईको गोलले टोलीलाई जित्न मद्दत गर्छ। तर, समग्रमा कोल ठिक छ, ऊ खुसी छ,’ उनले भने, ‘हाल गोल गर्न संघर्ष गरिरहेका छन्, तर यो कुनै असामान्य कुरा होइन। कुनै पनि सिजनमा यस्तो हुन सक्छ। उनी प्रशिक्षण सत्रमा अत्यन्त उत्कृष्ट देखिन्छन्, त्यसैले यसले उनलाई असर गरेजस्तो लाग्दैन।’
मारेस्काले डिफेन्डर वेस्ली फोफाना, मिडफिल्डर रोमियो लाविया र फरवार्ड निकोलस ज्याक्सनको चोटसम्बन्धी अपडेट पनि दिएका छन्।
‘वेस (फोफाना) १० दिनभन्दा बढी समयदेखि हामीसँग प्रशिक्षण गरिरहेका छन्, त्यसैले उनी फर्किसकेका छन्,’ मारेस्काले भने, ‘रोमियो (लाविया) पनि प्रशिक्षण सुरु गर्दैछन्, जुन राम्रो खबर हो। उनी अझै १०० प्रतिशत फिट हुन भने बाँकी छ। निको (ज्याक्सन) बाहिर दौडन थालेका छन्, तर उनको रिकभरी योजना उस्तै छ। सम्भवत: अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किनेछन्।’
२७ खेलबाट ४६ अंक जोड्दै चेल्सी लिग तालिकाको पाँचौं स्थानमा छ। आइतबार घरेलु मैदानमा १९औं स्थानमा रहेको लेस्टर सिटीविरुद्ध जित हात पार्ने राम्रो सम्भावना राख्छ। लेस्टरले पछिल्ला चार लिग खेल गुमाइसकेको छ।
लेस्टर सिटी छाडेर चेल्सीको जिम्मेवारी सम्हाल्न आएका मारेस्काले रेलिगेसन दबाबमा रहेको आफ्नो पूर्व टोलीप्रति सहानुभूति प्रकट गरेका छन्। साथै उनले लेस्टरका मुख्य प्रशिक्षक रूड भान निस्टलरोयलाई समर्थन व्यक्त गरेका छन्।
‘म रूडलाई पूर्ण रूपमा समर्थन गर्छु। पहिलो कारण, उनी मेरा साथी हुन्, दोस्रो उनी अहिले त्यहाँ छन्। उनी आफ्नो उत्कृष्ट प्रयास गरिरहेका छन्,’ मारेस्काले भने।
तर, अहिले मारेस्का चेल्सीमै केन्द्रित छन्। उनको ध्यान टिममा कसरी सुधार गर्न सकिन्छ भन्नेमा छ।