विराटनगर। थ्री स्टार क्लब नवौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा थ्री स्टारले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र एफसीलाई २–१ ले पराजित गरेको हो।
थ्री स्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि लिएको छ। उक्त गोल्डकपको फाइनलमा थ्री स्टारलाई मच्छिन्द्रले १–० गोलले पराजित गरेको थियो।
जितसँगै थ्री स्टारले आइतबार पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चुनौती प्रस्तुत गर्नेछ। थ्री स्टारको जितमा आशिष चापागाईं र दिपेश घलेले समान एक गोल गरे।
खेल सुरु भएको १५औं मिनेटमै आशिषले टोलीलाई सुरुआती अग्रता दिलाए। उनले एन्जल महर्जनले निकालेको क्रसलाई गोलमा सदुपयोग गरे। अग्रता लिएको १० मिनेट बित्न नपाउँदै दिपेशले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङले ८९औं मिनेटमा सान्त्वना गोल फर्काए। उनले डी बक्सभित्र हेडिङमार्फत आकर्षक गोल गरे। तर, उक्त गोल निर्णायक बन्न सकेन। थ्री स्टारका दिनेश म्यान अफ द म्याच घोषित भए र ११ हजार रुपैयाँ प्राप्त गरे।
मच्छिन्द्र गत वर्षको विजेता टोली हो। आठौं संस्करणको फाइनलमा घरेलु टिम मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि उचालेको थियो।