काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी ललितपुर सिटी एफसीले अनुभवी प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना अनुबन्ध गरेको छ।
एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका उनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो।
यसअघि ललितपुरले भुटानी रोनाल्डो भनेर चिनिने चेन्चो ग्याल्तसेन र हाइटीका फरवार्ड केर्वेन्स बेल्फोर्टलाई अनुबन्ध गरिसकेको छ। ३२ वर्षीय कान्टिलाना चिलीको स्यान्टियागोमा जन्मेका हुन्।
उनले चिलीको प्यालेस्टिनो क्लबबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए। उनले मलेसियाको क्वालालम्पुर एफए, इजिप्टको इएनपिपिआई र इन्डोनेसियाको पिएसआइएस सेमाराङजस्ता क्लबमा खेलेका छन्।
प्यालेस्टाइन राष्ट्रिय टिमबाट ३४ खेल खेलेका उनले १० गोल गरेका छन्।
ललितपुरका मुख्य प्रशिक्षक साइमन ग्रेसनले कान्टिलानाको आगमनप्रति उत्साह व्यक्त गर्दै अन्तर्राष्ट्रियस्तरको अनुभवले टोलीलाई आगामी सिजनमा ठूला उपलब्धि हासिल गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोक जोशीले राम्रा विदेशी खेलाडीलाई क्लबमा अनुुबन्धन गर्ने लक्ष्य अनुसार प्यालेस्टाइन खेलाडीलाई क्लबमा भित्र्याईएको बताए । जोनाथनको आगमनले उपाधि रक्षा गर्ने क्लबको उद्धेश्यमा सहयोग पुुग्ने विश्वास ब्यक्त गरे ।
ललितपुर सिटी एफसी नेपाल सुपर लिगको साविक विजेता टोली हो । उसले यस सिजन समेत उपाधि रक्षा गर्ने लक्ष्य सहित टिम निर्माणमा ध्यान केन्द्रित गरेको छ ।