काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्रत्येक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउने भएका छन्।
लिग फागुन २५ गतेबाट सुरु हुँदैछ। सिंगल राउन्ड रोविन हुने लिगमा १४ क्लबले सहभागिता जनाउँदै छन्।
‘प्रत्येक खेलमा विजयी हुने टोलीले २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टोली १० हजार प्रदान गरिनेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले भने। उनका अनुसार प्रतियोगिताको कुल बजेट तीन करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने लिगमा कुल ९१ वटा खेल हुने उनले जानकारी दिए। लिग विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले १० र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिग विजेता र उपविजेता ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन्।
‘फेयर प्ले टिम’ ले एक लाख र उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ७५ हजार रुपैयाँ पाउने छन्। ‘प्लेयर अफ द म्याच’लाई भने सात हजार ५०० रुपैयाँ दिने प्रवक्ता शाहले जानकारी दिए।
लिगमा आरसिटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले सहभागिता जनाउने छन्।
लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ १०० र भिआइपी पारापिटतर्फ ३०० रुपैयाँ कायम गरिएको छ। एन्फा कम्प्लेक्समा भने सामान्य पारापिटतर्फ १०० रुपैयाँ कायम गरिएको छ ।