काठमाडौं। ह्यारी केनले चार खेलको गोलको खडेरी तोड्दै बायर्न म्युनिखलाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार बायर लिभरकुजेनविरुद्ध ३–० को सहज जित दिलाएका छन्।
‘हामीले खेलको वरिपरि रहेको हाइपलाई व्यवस्थापन गर्यौं र शान्त रह्यौं,’ केनले भने, ‘खेलको सुरुआतमै गोल गर्नु राम्रो अनुभूति थियो, त्यसपछि दोस्रो गोल थपिनु झनै सन्तोषजनक रह्यो। अब हामी अर्को खेलतर्फ केन्द्रित हुनेछौं।’
केनले नवौं मिनेटमै माइकल ओलिसेको क्रसलाई हेडर गर्दै बायर्नलाई अग्रता दिलाए। उनले नोडी मुकिएललाई उछिन्दै बललाई जाली चुमाएका हुन्।
उनले खेलभरि नै आफ्नो मूल्य प्रमाणित गरे, आफ्नै गल्तीले गुमाएको बललाई पुनः नियन्त्रणमा लिँदै ओलिसेको लागि काउन्टर–अट्याक सिर्जना गरे।
७५औं मिनेटमा केनले पेनाल्टीमार्फत दोस्रो गोल गरे। एडमन्ड टाप्सोबाले उनलाई दुवै हातले समातेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। केनले आफ्नो लगातार ३०औं पेनाल्टी सफलतापूर्वक गोलमा परिणत गरे।
मुकिएल किंग्सले कोमानमाथि लापरबाहीपूर्ण ट्याकल गर्दा दोस्रो पहेंलो कार्ड पाएपछि टाप्सोबा सब्स्टिच्युटका रूपमा मैदान छिरेका थिए। केनले पछिल्लो पटक बायर्नका लागि गत फेब्रुअरी २ मा सेल्टिकविरुद्ध २–१ को जितमा गोल गरेका थिए।
‘खेलको पहिलो मिनेटदेखि नै टोलीको ध्यान उत्कृष्ट प्रदर्शनमा थियो,’ केनले थपे।
बुन्डेसलिगामा केनले यो सिजन २२ खेलमा २१ गोल गरिसकेका छन्। तीमध्ये नौ गोल पेनाल्टीबाट गरेका हुन्। लिभरकुजेनविरुद्धका गोल उनको च्याम्पियन्स लिगमा आठौं र नवौं थिए। बुधबारको खेलमा बायर्नका लागि अर्को गोल जमाल मुसियालाले गरे।
अब दोस्रो लेग आगामी मंगलबार लिभरकुसेनको मैदानमा हुनेछ। ‘यो खेलको पहिलो हाफ मात्र हो,’ बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले भने, ‘अझै केही पनि निश्चित भएको छैन।’