काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलसँग १–० को हार बेहोरेको छ। खेलभरि अवसर खेर फाल्दा फ्रेन्च टोलीलाई हार सहनु परेको हो।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा लिभरपुलका हार्भी इलियटले खेलको अन्त्यतिर निर्णायक गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए। यो लिभरपुलको खेलभरि गरेको दोस्रो मात्रै गोल प्रहार थियो। पिएसजीले २८ पटक पोस्टतर्फ आक्रमण गरेको थियो।
‘हामी खेलमा राम्रो थियौं, धेरै अवसर सिर्जना गर्यौं,’ पिएसजीका प्रशिक्षक लुइस एनरिकेले भने, ‘आज हामी जितको हकदार थियौं। उनीहरूको गोलकिपर खेलको सर्वश्रेष्ठ खेलाडी बने, जसले धेरै कुरा स्पष्ट गर्छ।’
समूह चरणमा पनि पिएसजीको कमजोर फिनिसिङ देखिएको थियो। आर्सनल, एट्लेटिको मड्रिड र बायर्न म्युनिखसँग पिएसजी पराजित भएको थियो। यी सबै खेलमा पिएसजीले जम्मा एक गोल मात्र गर्न सकेको थियो।
‘हामीले निकै अवसर खेर फाल्यौं, जस्तै सिजनको सुरुआतमा भएको थियो,’ पिएसजीका मिडफिल्डर भिटिन्हाले भने, ‘अब हामी हाम्रो वास्तविक क्षमता देखाउनु पर्छ। अर्कोपल्ट हामी गोल गर्नेछौं र जित्नेछौं भन्ने कुरामा म निश्चित छु।’
पिएसजीले पहिलो हाफमा १२ प्रहार गर्यो, जसले लिभरपुलको रक्षा दबाबमा परेको थियो। ‘यदि खेल बराबरीमा टुंगिएको भए हामी निकै भाग्यमानी हुने थियौं,’ लिभरपुलका प्रशिक्षक आर्ने स्लटले भने, ‘पहिलो हाफमा ०–० रहनु नै चमत्कारजस्तै लाग्यो। दोस्रो हाफमा पनि पिएसजीले धेरै प्रहार गर्यो।’
लिभरपुलका गोलकिपर अलिसनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए। ‘अलिसनले धेरै उत्कृष्ट बचाउ गरे,’ स्लटले थपे, ‘पिएसजी बल पोजिसनमा हामीभन्दा धेरै राम्रो थियो। उनीहरूको गतिशीलता, मिहिनेत र मिडफिल्डको उच्च गुणस्तर देखिन्थ्यो।’
ख्विचा क्वारात्सखेलियाले २०औं मिनेटमा सुन्दर कर्लिङ प्रहार गर्दै गोल गरेका थिए। तर ,भिएआर जाँचपछि उनलाई अफसाइडमा राख्दै गोल अस्वीकृत गरियो।
केही मिनेटपछि लिभरपुलका इब्राहिमा कोनाटेले ब्राडली बार्कोलालाई पछाडिबाट धकेलेको दाबी गर्दै पिएसजीले पेनाल्टी मागेको थियो। तर, रेफ्री डाभिडे मास्साले भिएआर जाँचपछि कुनै फाउल नदेखिएको भन्दै निर्णय उल्टाइदिए।
पिएसजीका समर्थकहरू निराश भएका थिए. टोलीले निरन्तर गोलको अवसर सिर्जना गरे पनि सफलता हात पार्न सकेन। खेलको अन्तिम क्षणमा पिएसजीका सब्स्टिच्युट डेसिरे डोएले २० यार्ड टाढाबाट शक्तिशाली प्रहार गरेका थिए, जसलाई अलिसनले पुनः उत्कृष्ट बचाउ गरे।
अब दोस्रो लेग आगामी मंगलबार एनफिल्डमा हुनेछ, जहाँ विजेता टोली क्वार्टरफाइनलमा स्थान बनाउनेछ। ‘हामीले प्रशस्त अवसर सिर्जना गर्नुपर्छ र हाम्रो समर्थकहरूलाई गर्व गर्नलायक प्रदर्शन दिनुपर्छ,’ एनरिकेले भने।