काठमाडौं। बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बेन्फिकालाई १–० ले पराजित गर्यो, जसमा गोलकिपर वोइचेक स्जेस्नीले महत्त्वपूर्ण भूमिका खेले।
बेन्फिकाको स्टेडियम अफ लाइटमा भएको खेलमा बार्सिलोना २२औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो। तर, पोल्यान्डका अनुभवी गोलकिपर स्जेस्नीले महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाए।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले खेलपछि भने, “आज हाम्रो गोलकिपर निकै उत्कृष्ट रहे, जुन हाम्रो लागि महत्त्वपूर्ण रह्यो। टोलीले एकताका साथ रक्षा गर्यो, जुन सबैभन्दा ठूलो कुरा हो।”
खेलको पहिलो मिनेटमै स्जेस्नीले बेन्फिकाका केरेम आकतुरकोग्लुले नजिकबाट प्रहार गरेको बललाई आफ्नो दायाँ हातले रोक्दै उत्कृष्ट बचाउ गरे।
१८ वर्षीय डिफेन्डर पाउ कुबर्सीले २२औं मिनेटमा सीधा रातो कार्ड पाए। भ्याङ्गेलिस पाभलिडिसलाई पछाडिबाट फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिइएको हो। त्यसपछि २५औं मिनेटमा उनले ओरकुन कोक्चुको फ्रि–किकलाई रोके। ४३औं मिनेटमा आकतुरकोग्लुकै हेडरलाई स्जेस्नीले पुनः रोक्दै बार्सिलोनालाई अग्रता जोगाइराखे।
दोस्रो हाफमा पनि बेन्फिकाले आक्रामक खेल देखायो। तर, स्जेस्नीले सबै प्रहार विफल बनाए। विशेष गरी स्टपेज टाइममा रेनाटो सान्चेसको हाफ भली प्रहारलाई बचाउँदै उनले बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाए।
३४ वर्षीय स्जेस्नीले बार्सिलोनामा गोलकिपरको भूमिका निभाउन आफ्नो सन्न्यासबाट फर्किएका थिए। मार्क–आन्द्रे टेर स्टेगन घुँडाको गम्भीर चोटका कारण टोलीबाहिर रहँदा इञाकी पेना सुरुमा पहिलो रोजाइका गोलकिपर थिए। तर, पछि फ्लिकले अनुभवी स्जेस्नीलाई पहिलो रोजाइ बनाए।
दोस्रो लेग आगामी मंगलबार बार्सिलोनाको मैदानमा हुनेछ। यो खेलमा घरेलु टोलीले क्वार्टरफाइनलमा प्रवेश गर्ने लक्ष्य राख्नेछ।