विराटनगर। विभागीय टिम त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले घरेलु टिम मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।
जितको लागि आर्मीका नीरज चौधरी नायक बने। उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोल नै टिमको जितको लागि निर्याण बन्यो। पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई नीरजले आकर्षक गोलमा परिणत गरेका थिए।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङले खेलमा फर्किन निकै संघर्ष गरेको थियो। तर, सफल हुन सकेन। दोस्रो हाफपछि आक्रामक खेल पस्किएको मोरङ खेल बराबरीमा ल्याउन आक्रामक खेले पनि सफल हुन सकेन।
दुवै टिम आक्रामक देखिए पनि डिफेन्स लाइनको कमजोरीमा मोरङ पहिलो हाफमा १–० ले पछि पर्यो। खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो। केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन।
३३औं मिनेटमा नीरज चौधरीले गरेको प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जोङ उत्कृष्ट बचाए। ५०औ मिनेटमा दिनेश हेम्जङले डीबक्स भित्रदेखि गरेको प्रहार मोरङका गोलकिपर पूर्ण बाधक बने। त्यसलगतै नीराजन धामीले गरेको सशक्त प्रहार बाहिरिँदा गोल हुन सकेन।
५१औं मिनेटमा आर्मीका नरेश खत्रीले गरेको प्रहार मोरङका गोलरक्षक पूर्णले विफल पारिदिए। त्यसको दुई मिनेटपछि नै मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए। त्यसलगतै सुशील राईले गोल गर्ने गतिलो अवसर गुमाए। मोरङका अभिषेक गुरुङले डीबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो।
७०औ मिनेटमा दोर्जे तामाङले डीबक्स नजिकदेखि गरेको प्रहार पनि पोस्ट माथिदेखि बाहिरिँदा बराबरीमा ल्याउने अवसर खेर गयो। प्रतियोगिताको प्लेयर अफ द म्याच आर्मीका गोलकिपर विकेस कुथु घोषित भए र ११ हजार रुपैयाँ प्राप्त गरे।