काठमाडौं। थ्री स्टार क्लबलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले बुधबार दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
तिलौराको बुद्ध रंगशालामा सम्पन्न फाइनलमा मच्छिन्द्रले थ्री स्टारमाथि १–० को जित निकालेको हो। योसँगै मच्छिन्द्रले दुई दिनमै दोस्रो उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको थियो।
त्यसको करिब ४८ घण्टाभित्रै मच्छिन्द्रले अर्को उपाधि पनि हात पारेको हो। मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको १२औं मिनेटमा विमल घर्तीमगरको पासमा गोल गरेका थिए। उनी नै म्यान अफ द म्याच भए र १० हजार रुपैयाँ प्राप्त गरे।
उपाधिसँगै मच्छिन्द्रले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता थ्रीस्टारले भने पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर सन्तोष महतो घोषित भए। उत्कृष्ट डिफेन्डर साइमन्ड, उत्कृष्ट मिडफिल्डर अनिल खड्का र उत्कृष्ट खेलाडी शौरभ लिम्बू भए। यी सबै खेलाडी मच्छिन्द्रका हुन्। सन्तोष, साइमन्ड र अनिलले समान ३० हजार रुपैयाँ प्राप्त गरे। शौरभले भने ५० हजार रुपैयाँ हात पारे।