काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक लुइस एनरिके च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा लिभरपुलको तीव्र आक्रमणबारे चिन्तित छन्।
बुधबार राति पार्क दि प्रिन्सेसमा हुने पहिलो लेगअघि पत्रकार सम्मेलनमा एनरिकेले भने, ‘लिभरपुलको युरोपकै उत्कृष्ट काउन्टर अट्याक छ। त्यसैले हामी बल नियन्त्रणमा राख्न खोज्नेछौं र ट्रान्जिसनमा धेरै समस्या भोग्न चाहन्नौं।’
उनले विशेष रूपमा लिभरपुलको अग्रपंक्तिको गति उल्लेख गर्दै भने, ‘उनीहरूसँग आक्रमणमा तीन वटा फाइटर जेट्स छन्, जसलाई रोक्न गाह्रो हुन्छ।’
लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाह यस सिजन सानदार लयमा छन्। उनले ३९ खेलमा ३० गोल गरिसकेका छन्। लुइस डियाज र कोडी गाक्पोले आक्रमणमा उनलाई मजबुत साथ दिइरहेका छन्।
‘हामी बल नियन्त्रणमा राख्न चाहन्छौं, तर लिभरपुलले बलबिना पनि समस्या सिर्जना गर्न सक्छ। उनीहरूलाई बलको त्यति आवश्यकता नपर्ला, जति हामीलाई पर्छ,’ उनले भने।
तर, पिएसजी हाल २२ खेलमा अपराजित छ। नोभेम्बरमा बायर्न म्युनिखसँग १–० को हारपछि टोलीले लगातार १० खेल जितेको छ, जसमा ४० गोल गरिएको छ।
किलियन एमबाप्पे रियल मड्रिड लागेपछि एनरिकेले आक्रमण पुनःसंरचना गरेका छन्। अब ख्विचा क्वारात्स्खेलिया, ब्राडली बार्कोला र उस्मान डेम्बेले मुख्य आक्रमणकर्ताको भूमिकामा छन्।
डेम्बेले यस सिजन करियरकै उत्कृष्ट लयमा छन्। उनले ३३ खेलमा २६ गोल गरिसकेका छन्। साथै, १९ वर्षीय देजिरे डोए र गोन्सालो रामोस बेन्चबाट प्रभाव पार्न सक्छन्।
एनरिकेले घरेलु मैदानको फाइदा लिने विश्वास व्यक्त गरे। ‘पार्क दि प्रिन्सेसको वातावरण अविश्वसनीय हुन्छ। लिभरपुलका खेलाडीहरूले यहाँ दबाब महसुस गर्नेछन्, जसको फाइदा हामीलाई हुनेछ,’ उनले भने।
तर, लिभरपुलको एनफिल्ड स्टेडियम पनि विपक्षीका लागि एउटा नराम्रो सम्झना बन्न सक्छ। सन् २०१९ मा लिओनल मेसीसम्मिलित बार्सिलोनाले पहिलो लेग ३–० ले जितेपछि दोस्रो लेगमा ४–० को अपमानजनक हार बेहोरेको थियो।
पिएसजी फ्रेन्च लिग वानमा अपराजित रहँदै १३औं उपाधि नजिक छ। लिभरपुल भने प्रिमियर लिग उपाधिनजिक छ। यो लिभरपुलको २०औं उपाधि हुनेछ।
यदि लिभरपुलले यस सिजन च्याम्पियन्स लिग जित्यो भने सातौं उपाधि हुनेछ। योसँगै एसी मिलानको कीर्तिमानसँग बराबरी हुनेछ।
पिएसजी सन् २०२० को फाइनलमा बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो। पिएसजी आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छन्। पिएसजी आफ्नो घरेलु मैदानमा लिभरपुलका ‘फाइटर जेट्स’ लाई कसरी रोक्नेछ? त्यो हेर्न रोचक हुनेछ।