काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी युवा मिडफिल्डर प्रीति राई घाइते भएकी छन्।
उनी विभागीय टोली एपिएफबाट घरेलु लिग खेल्दै आएकी छन्। यद्यपि, उनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत फागुन १४ गते म्यानमारसँग भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलपछि एपिएफको जर्सीमा देखिएकी छैनन्।
उनको टोलीले भने इलाममा दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप खेलिरहेको छ। एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार प्रीतिको पुरानै चोट बल्झिएको छ।
‘प्रीतिले पहिला सर्जरी गरेकी थिइन्। त्यही ठाउँमा अर्थात हिपको माथिको हड्डीमा समस्या देखिएको छ,’ उनले खेलपाटीसँग भने।
उनी अहिले ‘रिह्याव’ मा छिन्। उनले बाँसवारीस्थित नाडा रिह्याव सेन्टरमा चोटमुक्त हुन ‘रिह्याव’ गरिरहेकी छन्। उनलाई नेपाली राष्ट्रिय टोलीका पूर्वफिजियो तथा पफर्मेन्ट प्रशिक्षक विवेक विक्रान्त अधिकारीले चोटमुक्त पार्ने कोशिस गरिरहेका छन्।
‘म आफैंले पनि बिहान फिजियोसँग प्रीतिबारे जानकारी लिएको थिएँ। सकेसम्म चाँडै खेलाउने प्रयास गर्छौं,’ जीवेशले भने।
गोल्डकपमा एपिएफले मंगलबार भारतको उत्तर प्रदेशस्थित मदर टेरिसा एफसीमाथि १४–१ को फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।
अब एपिएफले फाइनल प्रवेश गर्न नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा प्रीतिलाई मैदान उतार्ने प्रयास गर्ने जीवेशले बताए।