काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब फरेभर फ्यान परिवारले केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलमा दर्शकहरू माथि भएको अभद्र व्यवहारप्रति खेदप्रकट गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिडेका थिए।
उक्त खेल हेर्न क्षमताभन्दा बढी दर्शक तथा कार्यकर्तालाई रंगशालामा प्रवेश दिइएको थियो। खेल सुरु हुनुभन्दा अगाडिदेखि नै आयोजक युवा संघ नेपालका कार्यकर्ताले आफ्ना पार्टीका भन्दा बाहिरकालाई विशेष निगरानी राखेको थियो।
त्यहीक्रममा अनावश्यक विवाद गर्दै युवा संघ नेपालका कार्यकर्ता दर्शक पिट्न उत्रिएका थिए। सो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि क्लब परिवारले मंगलबार विज्ञप्ति निकाल्दै खेद प्रकट गरेको हो।
‘सोमबारका दिन दशरथ रंगशालमा सम्पन्न केपी ओली कपको फाइनल खेलमा दर्शकदीर्घामा खेल हेरिरहेका फ्यानहरूलाई लक्षित गरी गरिएको अभद्र व्यवहारप्रति एमएमसी फरेभर फ्यान क्लब खेदप्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
साथै यस किसिमको अप्रिय घटना पुनः नदोहोरियोस् भनेर अखिल नेपाल फुटबल संघ (एन्फा) र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।
सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले आर्मीलाई २–० ले पराजित गर्दै लगातार तेस्रोपल्ट उपाधि जितेको थियो।