काठमाडौं । नेपालविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले खराब सुरुवात गरेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको युएईले पावर प्ले भित्र मात्र १४ रन जोडेको छ ।
नेपाली बलरको किफायती बलिङमा युएईले १० ओभरमा २ विकेट गुमाएर १४ रन जोडेको हो । नेपालका सोमपाल कामी र करण केसीले १/१ विकेट लिए ।
युएइले बनाएको यो स्कोर एकदिवसीय अन्तराष्ट्रिय कम स्कोरमा मध्येको एक हो । एकदिवसीय अन्तराष्ट्रियमा भारतले १० ओभरमा ११ रन जोडेर कीर्तिमान बनाएको छ ।
नेपालको लागि यस खेल निकै महत्वपुर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाल जित निकाल्दै ऐतिहासिक सफलता पाउने योजनामा छ ।
नेपालले आज युएईलाई हराए पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।
अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ ।