काठमाडौं। युवा फरवार्डद्वय नीराजन धामी र सुवास बमलाई समेट्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ। यी दुई खेलका लागि नवनियुक्त प्रशिक्षक रसले दुई युवा अनुहारलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
नेपाली उमेर समूहका विभिन्न टोलीको कप्तानी गरिसकेका सुवास उदीयमान फरवार्ड हुन्। नेपाल पुलिस क्लबबाट एन्फा यु–१६ र १८ युथ लिगमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
गत वर्ष भएको एन्फा यु–१६ युथ लिगमा उनले १४ गोल गरेका थिए। एन्फा यु–१८ युथ लिगमा भने उनले सर्वाधिक २४ गोल गर्दै पुलिसलाई लिग च्याम्पियन बनाएका थिए। यी दुवै लिगमा उनले पुलिसको कप्तानी गरेका थिए।
मनाङ मर्स्याङ्दीबाट ‘ए’ डिभिजन लिग खेलिसकेका नीराजन पनि उत्तिकै सम्भावना बोकेका खेलाडी हुन्। गत अगस्टमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको साफ यु–२० च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन उनले तीन गोल गरेका थिए। उनी पछिल्लो समय त्रिभुवन आर्मी क्लबको जर्सीमा देखिँदै आएका छन्।
उनी गत नोभेम्बरमा ताजिकिस्तान र अफगानिस्तानसँग भएको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टोलीमा थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलेका उनी उदीयमान खेलाडी घोषित भएका थिए।
उक्त खेलमा आर्मी मच्छिन्द्र फुटबल क्लबसँग २–० ले पराजित भएको थियो। सो खेल नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक रसले पनि हेरेका थिए।
नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन्। एन्फाले उनीसँग एक वर्षको सम्झौता गरेको छ। उक्त खेललगत्तै नेपाली टोली त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ।
पूर्व निर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो। तर, मैदान र सुरक्षाका कारण देखिउँदै खेलस्थान मलेसिया सारिएको हो।
प्रारम्भिक टोली
गोलकिपरः किरणकुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, एञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बू, आशिष गुरुङ, अशोक खवास
मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु
फरवार्डः जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, समीर तामाङ, दीनेश हेन्जन, सुवास ठकुरी बम, नीराजन धामी