काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक म्याट रसलाई सार्वजनिक गर्ने भएको छ।
एन्फाले उनलाई दिउँसो सार्वजनिक गर्न लागेको हो। नेपालले पछिल्लो पटक विश्वकप/एसियन कप छनोटको अन्तिम खेल गत वर्ष जुनमा यमनविरुद्ध खेलेको थियो।
उक्त खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यस खेलपछि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण गर्न एन्फाले चासो देखाएन। त्यसयता मुख्य प्रशिक्षक पद रिक्त छ।
एन्फाले प्रशिक्षक नियुक्त गर्न नोभेम्बरमा आवेदन खुला गरेको थियो। तर, अझैसम्म कुनै निश्चित निर्णय भएको छैन। गत नोभेम्बरमै ताजिकिस्तानमा आयोजना भएको मैत्रीपूर्ण खेलमा ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि २–० को जित निकाल्न सफल भएको थियो।
उक्त खेलका लागि नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो। तर, त्यसयता नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ।
यद्यपि, हाल अस्ट्रेलियाका प्रशिक्षक रसलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ। उनी डेढ महिनादेखि काठमाडौंको कोटेश्वरको होटेल बसिरहेका छन्। यद्यपि, उनको नियुक्तिको औपचारिक घोषणा हुन पनि अझै बाँकी नै छ।
एन्फा स्रोतका अनुसार उनीसँग एक वर्षको सम्झौता गरिएको छ।