काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार लिलविरुद्ध ४–१ को प्रभावशाली जित निकाल्दै फ्रेन्च लिगमा आफ्नो अग्रता अझ मजबुत बनाएको छ।
पिएसजी का प्रशिक्षक लुइस एनरिकेले स्टार खेलाडी ख्विचा क्वारात्स्खेलियालाई विश्राम दिए। क्लबले बुधबार च्याम्पियन्स लिगअन्तर्गत लिभरपुललाई घरेलु मैदानमा आमन्त्रण गर्दैछ।
यस खेलअघि चौथो स्थानमा रहेको लि मंगलबार बोरुसिया डर्टमन्डसँगको च्याम्पियन्स लिग खेलको तयारीका लागि खेल स्थगित गर्न चाहन्थ्यो। तर पिएसजी ले कुनै सहानुभूति देखाएन।
खेलको छैटौं मिनेटमा ब्राड्ली बारकोलाले ओसमाने डेम्बेलेको प्रहारपछि रिबाउन्डमा गोल गर्दै पिएसजी लाई अग्रता दिलाए। लिलका गोलरक्षक लुकास चेभालिएले लगातार उत्कृष्ट बचाउ गरे पनि २२औं मिनेटमा मार्किन्होसको हेडरले घरेलु टोलीलाई २–० को अग्रता दिलायो।
डेम्बेलेले २८औं मिनेटमा फ्रि भएर गोल गर्दै स्कोर ३–० पुर्याए। १९ वर्षीय डेजिरे डोएले ३७औं मिनेटमा उत्कृष्ट प्रहार गर्दै पिएसजी को अग्रता ४–० बनाए।
लिल पहिलो हाफमा एकपटक पनि लक्ष्यमा प्रहार गर्न असफल रह्यो। प्रशिक्षक ब्रुनो जेनेसियोले दोस्रो हाफको सुरुमै दुई परिवर्तन गरे। आइसल्यान्डका हाकन हाराल्डसन र किलियन एमबाप्पेका कान्छा भाइ १८ वर्षीय इथान एमबाप्पे मैदानमा प्रवेश गरे।
तर, दोस्रो हाफमा लिलका गोलरक्षक चेभालिएलाई पहिलो हाफजस्तो व्यस्त रहनुपरेन।
प्रशिक्षक एनरिकेले खेलको अन्तिम आधा घण्टामा चार खेलाडी परिवर्तन गरे. अच्राफ हाकिमी र डेम्बेलेलाई विश्राम दिइयो। यस क्रममा क्वारात्स्खेलिया र वारेन जाइर–इमेरी मैदानमा आए। जाइर–इमेरीले घुँडाको चोटपछि पुनरागमन गरेका हुन्।
क्यानाडाली फरवार्ड जोनाथन डेभिडले ८०औं मिनेटमा लिलका लागि सान्त्वना गोल गरे। एमबाप्पेको प्रहारलाई डोनारुम्माले बचाएपछि उनले रिबाउन्डमा गोल गरेका थिए।
यस जितसँगै पिएसजी लिग वनमा दोस्रो स्थानको मार्सेभन्दा १६ अंकले अघि बढेको छ। क्लबले सबै प्रतियोगितामा लगातार १०औं जित दर्ता गरेको छ।