बाँके। तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लबले विजयी सुरुवात गरेको छ।
शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एकेडेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुआत गरेको हो।
कोहलपुर रेसिङ सहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औँ मिनेटमा जर्सी नम्बर ११ का नीराजनजंघ शाहीले पहिलो गोल गरेका थिए।
दोस्रो हाफको ६५ औँ मिनेटमा आयोजक क्लबकै क्षितिज थापाले दोस्रो गोल गरे। शाही र थापाको गोलबाट प्रेरित कोहलपुर रेसिङ सहारा फुटबल क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो।
लुम्बिनी फुटबल एडेकेमी, घोराही दाङले भने थुप्रै अवसर पाए पनि गोल गर्न नसक्दा पराजित हुन पुगेको छ।
पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ सहारा फुटबल क्लबका निराजनजंग शाही म्यान अफ द म्याद घोषित भए। उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार प्रतियोगिताको दोस्रो दिन आइतबार दिउँसो २ बजे भारतको सहारा फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपरासीबीच हुनेछ।
प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ। घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको सहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काँक्रेविहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र कोहलपुर रेसिङ सहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ।
कोहलपुर रेसिङ सहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।मुख्यमन्त्री आचार्यले खेलाडीहरूलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो गोल्डकप महत्त्वपूर्ण रहेको बताए। विदेशी टिम सहभागी हुने प्रतियोगिताले कोहलपुरको मात्र नभएर देशकै पहिचान बढाउने उनले बताएका थिए।