काठमाडौं। नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
नेपाली राष्ट्रिय टोलीले मार्च २५ मा मलेसियासँग खेल्दै छनोटको सुरुआत गर्नेछ। त्यसअघि नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘लामो समयदेखि पुरुष खेलाडी खेलविहीन छन्। त्यसैले तयारी पनि हुन्छ र म्याच एक्सपोजर पनि हुन्छ भनेर सिंगापुरसँग खेलाउन लागिएको हो,’ उनले खेलपाटीसँग भने। उनका अनुसार नेपालले सिंगापुरसँग उसकै मैदानमा खेल्नेछ।
लगत्तै नेपाल त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ। पूर्व निर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो। तर, मैदान र सुरक्षाका कारण देखिउँदै खेलस्थान मलेसिया सारिएको शाहले जानकारी दिए।
उनका अनुसार मलेसियासँगको दोस्रो लेग भने दशरथ रंगशालामै हुने सम्झौता भएको छ। ‘एएफसीका प्रतिनिधिले धेरै पहिला नै रंगशाला भ्रमण गरेर गइसक्नु भएको हो। फ्लड लाइटलगायत अन्य कुरामा राम्रो प्रगति देखिए पनि सेफ्टिलगायत कुरामा अझै सन्तृष्ट देखिएन। अर्को कुरा सेफ्टि रिपोर्ट बनाउने र मैदान पनि हाम्रो हातमा नभएको कारण खेल मलेसियामै सर्ने निर्णय भएको हो,’ उनले भने।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेलेपछि जुन १० मा लाओससँग खेल्ने छ। यो खेल लाओसमै हुने तय छ।
त्यस्तै, अक्टोबर १० मा नेपाल भियतनाम पुग्नेछ। त्यसको पाँच दिनपछि भियतनामले दशरथ रंगशालामा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। १८ नोभेम्बरमा नेपालले पुन: मलेसियासँग खेल्ने छ। त्यसपछि मार्च ३१ मा लाओससँग दशरथ रंगशालामा खेल्दै नेपालले छनोट यात्रा सक्काउने छ।