काठमाडौं। बलोन डी’ओर विजेता तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री घुँडाको गम्भीर चोटपछि व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्।
सिटीले शुक्रबार सार्वजनिक गरेको भिडियोमा २८ वर्षीय खेलाडीलाई प्रशिक्षण मैदानमा केही अभ्यास गरिरहेको देख्न सकिन्छ।
सेप्टेम्बरमा आर्सनलविरुद्धको २-२ को बराबरी खेलका क्रममा स्पेनका अन्तर्राष्ट्रिय खेलाडी रोड्रीको अगाडिको क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो। लगत्तै सर्जरी गराएका थिए। प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई सिजनभरि बाहिर रहने बताएका थिए।
तर, नोभेम्बरमा नै रोड्रीले यस सिजनमै पुनः मैदान फर्कने लक्ष्य राखेका थिए। यस महिनाको सुरुमा उनले चोटलाई खेलाडी जीवनको एक हिस्सा मान्दै सकारात्मक सोच राख्ने बताएका थिए।
‘म भगवानलाई सबै कुराका लागि धन्यवाद दिन्छु र यस्ता परिस्थितिहरूमा सकरात्मक रहन प्रयास गर्छु,’ उनले भने,‘परिवारसँग बढी समय बिताउने, शरीरका अन्य भागहरूलाई सुधार्ने र अझ बलियो भएर फर्किने अवसरको रूपमा हेर्ने सोच्छु।’
हाल प्रिमियर लिगको चौथो स्थानमा रहेको सिटीले शनिबार एफए कपको पाँचौं चरणमा दोस्रो डिभिजन क्लब प्लेमाउथ अर्गाइलको सामना गर्दैछ।