काठमाडौं । तेस्रो संस्करणको मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल आज शनिबारदेखि सुरु हुदैछ ।
बाँकेको कोहलपुरमा हुने प्रतियोगिताको आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब रहेको छ ।
प्रतियोगिता आयोजक सहित ८ टिमको सहभागीता रहेको छ भने विदेशी टिमको रुपमा भारतको साहारा फुटबल क्लब र घानाको अफ्रिकन फुटबल क्लबले समेत प्रतियोगिता खेल्दैछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब र लुम्बिनी फुटबल एकेडेमी घोराही प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी फुटबल एकेडेमी मोफसलमा एकेडेमी सञ्चालन गरेर फुटबलमा काम गर्दै आएको क्लब हो ।
उद्घाटन खेल कोहलपुर दशबिगाहा खेल मैदानमा दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
पश्चिम नेपालको फुटबलमा योगदान गर्ने उद्धेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको प्रतियोगिता संयोजक तथा बाँके जिल्ला फुटबल संघका सदस्य कर्ण बस्नेतले बताए ।
''ग्रासरुटदेखि खेलाडी उत्पादनमा योगदान पुुर्याउने उद्धेश्यले प्रतियोगितालाई अघि बढाएका छौं । प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादनमा काम गर्ने उद्धेश्य छ ।'' बस्नेतले भने ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित ८ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कोहलपुर नगरपालिका संरक्षक रहेको मुख्यमन्त्री कोहलपुर गोल्डकपलाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले समेत सहयोग गरेको छ ।
पश्चिम नेपालमा फुटबलका गतिविधिलाई अघि बढाउन महत्वपुर्ण कार्यक्रमको रुपमा कोहलपुर गोल्डकपले आकार लिएको आयोजक रेसिङ्ग साहारा फुटबल क्लबले बताएको छ ।