काठमाडौं। नेयमारको राष्ट्रिय टोलीमा सम्भावित पुनरागमनले ठूलो उत्साह पैदा गरेको छ। उनले अक्टोबर २०२३ यता ब्राजिलको राष्ट्रिय जर्सीमा खेलेका थिएनन्।
उरुग्वेविरुद्धको विश्वकप छनोट खेलका क्रममा मोन्टेभिडियोमा उनको बाँया खुट्टाको एसिएल र मेनिस्कस च्यातिएको थियो। तर, घरेलु क्लब सान्तोसबाट एक महिना खेलिसकेपछि उनले आफ्नो शारीरिक अवस्था राम्रो भएको महसुस गरिरहेको बताएका छन् र चाँडै नै राष्ट्रिय टोलीको जर्सी फेरि लगाउने आशा राखेका छन्।
‘राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु मेरो लागि सधैं गर्वको विषय रहँदै आएको छ,’ उनले भने।
ब्राजिलका मुख्य प्रशिक्षक डोरिभाल जुनियरले आफ्नो प्रारम्भिक टोलीको सूचीमा नेयमारसहित केही अनुभवी खेलाडीहरूलाई समावेश गरेका छन्। सूचीमा एन्थोनी (रियल बेटिस), एन्ड्रिक (रियल मड्रिड) र सामुएल लिनो (एट्लेटिको मड्रिड) जस्ता युवा खेलाडी छन्। साथै अनुभवी खेलाडीहरू लुकास मोउरा र ओस्कार (साओ पाउलो)ले पनि स्थान बनाएका छन्।
नियमित टोलीका सदस्यहरू मार्किन्होस (पिएसजी), ब्रुनो गुइमारायस (न्युकासल), राफिन्हा (बार्सिलोना), रोड्रिगो र भिनिसियस जुनियर (रियल मड्रिड) पनि प्रारम्भिक टोलीमा छन्।
जुनियरले अन्तिम २३ खेलाडीको टोली मार्च ७ मा घोषणा गर्नेछन्। ब्राजिलले मार्च २० मा ब्रसिलियामा कोलम्बियासँग र मार्च २५ मा ब्युनस आयर्समा अर्जेन्टिनासँग खेल्नेछ।