काठमाडौं । दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा आज रुस्लान थ्री स्टार र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।
इटहरीको क्षेत्रिय रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुई क्लब हप्ता दिनमै दोस्रो पटक भिड्न लागेको हुन् ।
सिमरा गोल्डकपको फाईनलमा प्रतिस्पर्धा गरेका दुवै टोली ईटहरीमा भने पहिलो खेलमै उत्रन लागेका हुन् ।
आर्मीलाई हराउँदै थ्री स्टारले सिमरा गोल्डकपको उपाधि उचालेको थियो । सिमरामा थ्री स्टारसंग हारेको बदला लिने अवसर आर्मीलाई प्राप्त छ ।
सहिद स्मारक ए डिभिजन लिगमा भने दुबै क्लबले १–१ को बराबरी खेलेका थिए ।
आजको विजेताले माघ १६ गते मेची नेत्रायल फुटबल सेन्टरसँग खेल्नेछ ।
उद्घाटन खेलमा क्यामरुनको दाफिनान्स फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै मेची नेत्रायल फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको थियो ।
८ क्लब सम्मिलित प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।