काठमाडौं। मार्को असेन्सियोले दोस्रो हाफमा गरेको दुई उत्कृष्ट गोलसँगै एस्टन भिल्ला एक दशकपछि एफए कपको क्वार्टरफाइनलमा पुगेको छ।
भिल्ला पार्कमा शुक्रबार सम्पन्न खेलमा कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै भिल्लाले अन्तिम आठमा स्थान पक्का गरेको हो।
सन् १९५४ पछि कार्डिफले भिल्ला पार्कमा जित निकालेको थिएन र यो खेलमा पनि त्यो इतिहास बदल्न सकेन। खेल सुरु भएदेखि नै घरेलु टोली हावी रह्यो। योसँगै कार्डिफका गोलकिपर इथान होरभाथ व्यस्त रहनुपर्यो।
तर, वेल्स क्लबले दृढ रक्षात्मक प्रदर्शन गर्दै भिल्लालाई दोस्रो हाफको मध्यसम्म रोक्यो। अन्ततः भिल्लाले आफ्नो दबदबा कायम राख्दै गोल गर्न सफल भयो।
जनवरी ट्रान्सफर विन्डोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लोनमा आएका स्पेनिस स्ट्राइकर असेन्सियोले गत साता चेल्सीविरुद्ध २–१ को जितमा पनि दुई गोल गरेका थिए। उनले प्रशिक्षक उनाइ एमरीको विश्वासलाई तेस्रो खेलमै सही साबित गरे।
पहिलो गोलमा उनले बायाँ विंगबाट मार्कस रासफोर्डको कटब्याक पास पाए र सहज रूपमा बल जाली चुमाए। त्यसको १२ मिनेटपछि उनले ओली वाट्किन्सको पासमा आफूलाई सन्तुलित गर्दै दायाँ खुट्टाले बल पोस्टभित्र छिराए।
‘यो सजिलो खेल थिएन,’ असेन्सियोले भने, ‘ यो कठिन खेल हुन्छ भनेर हामीलाई थाहा थियो। गोल गर्न पाउँदा र टिमलाई जित दिलाउन पाउँदा निकै खुसी छु। अर्को चरणमा पुग्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’
एफए कपको अन्य पाँचौं राउन्डका खेलहरू शनिबार र आइतबार खेलिनेछन्, जसपछि क्वार्टरफाइनलको ‘ड्र’ हुनेछ।