काठमाडौं। नेयमार र ओस्कारलाई कोलम्बिया र अर्जेन्टिनाविरुद्ध हुने विश्वकप छनोट खेलका लागि प्रारम्भिक टोलीमा समावेश गरिएको छ।
३३ वर्षीय नेयमारले अक्टोबर २०२३ मा उरुग्वेविरुद्ध मोन्टेभिडियोमा भएको खेलमा बाँया खुट्टाको एसीएल च्यातिएपछि राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिएनन्।
लामो पुन:स्थापनापछि उनी जनवरीमा बाल्यकालीन क्लब सान्तोस फर्किएका थिए। त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पुरानो लयमा फर्किन प्रयास गरिरहेका उनलाई ब्राजिल फुटबल महासंघ (सिबिएफ) ले शुक्रबार प्रारम्भिक टोलीमा समावेश गरेको हो।
ब्राजिलका मुख्य प्रशिक्षक डोरिभाल जुनियरले रियल बेटिसका विंगर एन्थोनी, रियल मड्रिडका युवा फरवार्ड एन्ड्रिक, एट्लेटिको मड्रिडका सामुएल लिनोलाई पनि प्रारम्भिक टोलीमा राखेका छन्। साथै अनुभवी मिडफिल्डर ओस्कार र साओ पाउलोका लुकास मोउरा पनि टोलीमा परेका छन्।
प्रत्याशित रूपमा ५२ खेलाडीको सूचीमा रियल मड्रिडका आक्रमणकारीहरू भिनिसियस जुनियर र रोड्रिगो, न्युकासलका ब्रुनो गुइमारायस र बार्सिलोनाका राफिन्हा पनि छन्।
ब्राजिलले मार्च २० मा ब्रसिलियामा कोलम्बियासँग र मार्च २५ मा ब्युनस आयर्समा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। पाँचपल्टको विश्व विजेता ब्राजिल हाल १० टोली रहेको दक्षिण अमेरिकी छनोट समूहमा १८ अंकसहित पाँचौं स्थानमा छ, शीर्ष स्थानमा रहेको अर्जेन्टिनाभन्दा सात अंक पछाडि।
प्रशिक्षक जुनियरले आगामी हप्तामा अन्तिम २३ सदस्यीय टोली घोषणा गर्ने अपेक्षा गरिएको छ।