एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले स्पानियोललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
स्पानियोलको घरेलु मैदानमा १० खेलाडीमा सिमित भएर पनि रियलले घरेलु टोलीलाई हराएको हो । रियलको जितमा करीम बेन्जिमाले दुई गोल गरे । यस्तै ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक एक गोल गरे । स्पानियोलका लियो बाप्टिसटाओ र रोबर्टो रोसेल्सले एक एक गोल गरे ।
खेलको
खेलको चौथो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता २-० को बनाए ।
खेलको २५ औं मिनेटमा स्पानियोलका बाप्टिसटाओले गोल गर्दै खेल २-१ मा ल्याए । तर, खेलको ४५ औं मिनेटमा बेन्जिमाले व्यतिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमा ३-१ को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता ४-१ को बनाए । खेलको ७२ औं मिनेटमा राफायल भेरोनाले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ८१ औं मिनेटमा स्पानियोलका रोबर्टोले एक गोल फर्काएपनि रियलले खेल ४-२ ले आफ्नो बनायो ।
जितसंगै तेस्रो स्थानको रियलले २१ खेलबाट ३९ अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १० अंकले पछि छ । बार्सिलोनाको ४९ अंक छ । पराजित स्पानियोल २४ अंक जोडेर १४ औं स्थानमा छ ।