काठमाडौं। महिला एएफसी एसियन कप २०२६ को फाइनल अस्ट्रेलिया सिड्नी स्टेडियममा हुने भएको छ। फाइनल खेल २१ मार्चमा हुनेछ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार यस रंगशालामा एक सेमिफाइनल र दुई क्वार्टरफाइनल खेल पनि खेलाइने जानकारी दिएको छ।
अन्य एक सेमिफाइनल र एक क्वार्टरफाइनल खेल पर्थ स्टेडियममा हुनेछ। आयोजक राष्ट्र अस्ट्रेलियाले १२ टिम सम्मिलित प्रतियोगिताको उद्घाटन खेल मार्च १ मा खेल्नेछ।
प्रतियोगिताका ६० प्रतिशतभन्दा बढी टिकट सिड्नीका विभिन्न खेलस्थलका लागि हुनेछन्। तेस्रो होस्ट सहर गोल्ड कोस्टले केवल समूह चरणका खेल आयोजना गर्नेछ।
फुटबल अस्ट्रेलियाले सन् २०२३ महिला विश्वकपमा देखिएको दर्शकहरूको ठूलो सहभागिता दोहोरिने अपेक्षा गरेको छ। अस्ट्रेलियाको महिला टिमले फिफा महिला विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
चार राष्ट्रहरू पहिले नै प्रतियोगिताका लागि छनोट भइसकेका छन्। आयोजकका रूपमा अस्ट्रेलिया तथा शीर्ष तीन टोली चीन (डिफेन्डिङ च्याम्पियन), दक्षिण कोरिया र जापानले छनोट खेल्न पर्ने छैन।
अन्य आठ राष्ट्रको छनोटका लागि जुन र जुलाईमा छनोट चरणका खेल हुनेछ। प्रतियोगिताको ड्र (समूह विभाजन) अगस्ट महिनामा सार्वजनिक गरिने एएफसीले जनाएको छ।