काठमाडौं। अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालले बुधबार इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा आफूभन्दा बलियो म्यानमारको सामना गर्नेछ। यसक्रममा नेपालको एकै लक्ष्य हुनेछ, १४ वर्षे लामो उपाधि खडेरी तोड्ने। यसका साक्षी हुनेछन् करिब १५ हजार दर्शक।
पहिलो अन्तर्राष्ट्रिय उपाधिनजिक रहेको नेपालले यसपल्ट प्रतियोगितामा दुई जित र एक बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो। सन् २०१० मा बंगलादेशमा भएको साफ महिला च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदबाट नेपालले ठूला प्रतियोगितामा पाइला हालेको हो। तर, यो बीचमा ११ फाइनल खेले पनि नेपालले हालसम्म कुनै उपाधि जित्न सकेन।
दक्षिण एसियामा उपाधिविहीन भएपछि नेपाल पश्चिम एसियातर्फ पनि लागेको थियो। तर, गत वर्ष साउदी अरबमा भएको पश्चिम एसियाली फुटबल महासंघ (वाफ) मा पनि नेपाल उपविजेतामै सीमित भएर फर्कियो।
त्यसको सात महिनापछि घरेलु मैदानमै भएको साफ च्याम्पियनसिपमा पनि उपविजेतामै सीमित भएको नेपाली टोलीलाई अहिले भने उपाधिको ज्वरोले समातेको छ।
‘कोचिङ करियमा एक वर्षमै तीन वटा फाइनल खेल्नु भनेको एकदमै राम्रो हो। तर, ट्रफी जित्न सकेको छैनौं। त्यसैले भित्रबाटै उपाधि जित्नुपर्छ भन्ने छ,’ नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्।
राजेन्द्रको प्रशिक्षणमा नेपालले पश्चिम एसियामा पहिलोपल्ट वाफ खेलेको थियो। अपराजित रहँदै फाइनल पुगेको टोली उपाधि भिडन्तमा भने टाइब्रेकरमा जोर्डनसँग ५–३ ले पराजित भयो। त्यसको सात महिनापछि उनलाई घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप जितेर आफू नै उत्कृष्ट प्रशिक्षक रहेको प्रमाणित गर्ने मौका मिलेको थियो।
तर, समूह चरणमा मै भुटानसँग पहिलोपल्ट गोलरहित बराबरी खेल्दै डगमगाएको नेपालले सेमिफाइनलमा भारतलाई लगातार साफमा पराजित गर्यो। तर, निर्णायक खेलमा भने बंगलादेशलाई २–१ को नतिजा सुम्पियो।
यसपल्ट पनि राजेन्द्रको टोलीले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा लक्ष्यअनुसारको नतिजा निकाल्न सकेको छैन। आफूभन्दा निकै तल्लो वरीयतामा रहेका किर्गिस्तान र लेबनानमाथि समान १–० को नतिजा निकाल्न पनि नेपालले निकै चुनौतीको सामना गर्नुपरेको थियो।
तर, लिग चरणमै आफूभन्दा ४८औं स्थान माथि रहेको म्यानमारलाई २–२ को बराबरीमा रोक्न सफल हुनुले राजेन्द्र यसपल्ट उपाधि जित्नेमा आशावादी देखिएका छन्।
‘म्यानमारसँग खेल्दा अञ्जना रानामगरसहित आठ जना खेलाडी २५ वर्षभन्दा मुनिका थिए। त्यसैले गर्दा माहौल नै फरक भयो र म्यानमारलाई बराबरीमा रोक्न सक्यौं। त्यसैले फाइनलमा पनि हराउन सक्छौं भन्ने विश्वास छ,’ उनले भने।
उनी थप्छन्, ‘अहिले यो खेलाडी यहाँबाट आएको हो, यसलाई खेलाउनु नै पर्छ भन्ने बाध्यता छैन। सबैलाई एकनासै हेर्ने मौका मिलेको छ। त्यसैले सहज वातावरण मिलेको छ।’
म्यानमार र नेपाल चौथोपल्ट आमुन्नेसामुन्ने हुन लागेका हुन्। सन् २०१८ मा एसियन ओलम्पिक छनोटअन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए। उक्त खेलमा सावित्रा भण्डारीले तेस्रो मिनेटमै गोल गरे पनि नेपालले उक्त अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा चित्त बुझाउनुपरेको थियो।
त्यसकै अर्को वर्ष नेपालले दोस्रो लेग खेलेको थियो। तर, उक्त खेलमा भने म्यानमारले ३–१ को सानदार जित हासिल गर्यो। उक्त खेलमा भने निरु थापाले एक मात्रै गोल गरेकी थिइन्। त्यसयता नेपाल र म्यानमारको भेट दशरथ रंगशालामै भएको हो।
गत वर्ष म्यानमारले भारत र हङकङसँग समान दुई मैत्रीपूर्ण खेल खलेको थियो। हङकङलाई दुवै खेलमा ४–१ ले पराजित गरे पनि भारतसँग भने म्यानमारलाई त्यति सहज भएन। घरेलु मैदानमा भएको पहिलो खेलमा म्यानमार १–१ को बराबरीमा रोकिएको थियो। अर्को खेलमा भने म्यानमारले २–१ को कठिन जित हात पार्यो।
यसपल्ट म्यानमार त्यही कमजोर टोली बनेर आएको छैन। नेपाललाई जित निकाल्न कठिन भएको लेबनानमाथि ३–१ र किर्गिस्तानमाथि निकालेको ५–० को नतिजाले पनि यसलाई प्रमाणित गर्छ।
त्यसैले धैर्यता देखाउँदै खेल्नुपर्ने बताउँछन् राजेन्द्र। ‘एकदम धैर्यताका साथ खेलाडीसँग मिलेर जसरी हुन्छ यही ट्रफी राख्ने वातावरण मिलाउँछौं,’ उनी भन्छन्।
नेपाली राष्ट्रिय टोलीकी कप्तान अञ्जिला अहिलेसम्म उपविजेतामै सीमित हुनुपर्दा खिन्न मान्छिन्। त्यसैले बुधबार म्यानमारसँग हुने खेल विजेता बन्ने सुवर्ण अवसर रहेको उनको भनाइ छ। अर्कोतर्फ आफ्नो कप्तानीमा लगातार तीन फाइनल हार्दा जिम्मेवारीमा मै कतै दबाब त पर्ने होइन? भन्ने कुरामा पनि उनी उत्तिकै सजग छिन्।
‘भोलि गएर एक टिम मात्रै च्याम्पियन बन्ने हो। फिल्डमा गएर जसले राम्रो गर्छ उसैले जित्ने हो। तर, एक वर्षमा तीन फाइनलमा गएर हार्यौं भने कप्तानी जिम्मेवारीमै प्रेसर पर्छ,’ उनले भनिन्। तर, पाएको मौकालाई भने कुनै हालतमा नगुमाउने उनको टोलीको लक्ष्य छ।