एजेन्सी । साबिक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्टुटगार्डलाई ४-१ गोल अन्तरले पराजित गर्दै वायर्न लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन थियागो, लियोन गोर्टेज्का र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । वायर्नले एक गोल आत्मघाती थियो । स्टुटगार्डका अनास्टासिओस डोनिसले एक गोल गर्दा क्रिस्टियन गेन्टनरले आत्मघाती गोल गरे ।
खेलको पाँचौ मिनेटमा थियागो वायर्नलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा डोनिसले गोल गर्दै स्टुटगार्डलाई खेलमा फर्काए ।
खेलको ५५ औं मिनेटमा क्रिस्टियनले आत्मघाती गोल गर्दा वायर्नले २-१ को अग्रता बनायो । खेलको ७१ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई ४-१ को जित दिलाए ।
जितसंगै वायर्नले १९ खेलबाट ४२ अंक जोडेको छ । र, शीर्ष स्थानको बोरुसिया डर्टमण्डसंगको अंक ६ अंकमा झारेको छ । डर्टमण्डको ४८ अंक छ ।