धनगढी। लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा कोशी प्रदेशको गाईघाट फुटबल क्लब र राइजिङ स्टार भिड्ने पक्का थियो।
तर, गाईघाटले पत्र पठाउँदै नाम फिर्ता लिएको जानकारी गराएसँगै राइजिङ स्टार नखेलि अन्तिम चारमा पुगेको हो।
गाईघाट गत कात्तिक ८ गते सम्पन्न कोशी प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको थियो। एन्फा प्रेसिडेन्ट प्रदेश लिगमा छनोट खेल्नुपर्ने भएको कारण पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन नसकेको जनाएको छ।
योसँगै राइजिङ स्टारले फाइनल प्रवेश गर्न बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। लक्की स्टारले क्वार्टरफाइनलमा गण्डकी प्रदेशको चोरमारा युथ क्लबलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बबनाइसकेको छ।
सेमिफाइनलका खेल आइतबारदेखि सुरु हुँदैछन्।