काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला दोस्रो एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको छ ।
नेपालले घरेलु टोलीसंगको तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । र, युएई भ्रमणमा रहेको नेपाली टोलीले सोमबार (भोली) अन्तिम तथा तेस्रो एकदिवसीय खेल खेल्दैछ । जुन खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।
दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने अन्तिम तथा तेस्रो एकदिवसीयमा जित निकाल्न सफल भए नेपालले ऐतिहासिक सफलता पाउने छ । नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।
नेपालले खेलेको पहिलो एकदिवसीय सिरिज भने बराबरी भएको थियो । नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो ।
तर, यतिबेला नेपाली टोली पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितको संघारमा छ । नेपाललाई सिरिज जित्न सोमबारको खेल जित्नै पर्नेछ । सोमबारको खेल जिते नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिजको स्वाद चाख्ने छ ।
अघिल्ला दुई खेल सकिदा नेपाल र युएईबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ ।
नेपाल पनि सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्ने अवसर समेत छ । नेपाली टोलीका कप्तान पारस खड्काले युएई भ्रमण अघि सिरिज जित्ने लक्ष्य रहेको बताएका थिए । युएईलाई पन्छाउनु नेपाललाई कठिन चुनौती भने छ । तर, नेपाल युएईविरुद्धको दोस्रो खेलको जितले निकै हौसिएको छ ।
पहिलो एकदिवसीयमा खराब प्रदर्शन गरेको नेपाल घरेलु टोलीसंग ३ विकेटले पराजित भएको थियो । तर, शनिबार भएको दोस्रो खेलमा नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो । दोस्रो खेलमा नेपालको ब्याटिङ र बलिङ प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।
नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्न शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नु पर्नेछ । दोस्रो एकदिवसीय नेपालको ओपनिङ ब्याटिङ र मध्ये क्रमको ब्याटिङ चलेको थियो । नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको सर्वाधिक ठुलो योगफल समेत हो ।
उक्त खेलमा युवा स्टार रोहित कुमार पौडेलले कीर्तिमानसहित अर्धशतक बनाएका थिए । रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सर्वाधिक कम उमेरको खेलाडीको कीर्तिमानी बनाएका थिए ।
यस्तै ओपनर बलर सोमपाल कामीले पाँच विकेट लिएका थिए । युएईलाई सस्तैमा सोमपालले ६ ओभर ३ बल बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए । सोमपाल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बनेका थिए ।