काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमारको सामना गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा लेबनानलाई १–० ले हराउँदै एक खेलअगाबै फाइनलमा स्थान बनाएको हो। नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो।
यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पुर्याएको छ। म्यानमारले पनि समान खेलबाट ६ अंक पुर्याएको छ। तर, गोलअन्तरमा भने म्यानमार अगाडि छ। अब यी दुई टोलीले लिगचरणको अन्तिम खेल आइतबार खेल्नेछन्।
लेबनान र किर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन्।
चार खेलाडी परिवर्तन गर्नै मैदान उत्रिएको लेबनानले आक्रामक सुरुआत गरेको थियो। खेलको नवौं मिनेटमै लेबनानकी लयला इस्कान्दारको पासमा क्रिस्टी मालोयसले प्रहार गरेको बललाई अञ्जिलाले सुन्दर बचाउ गरिन्।
त्यसपछि पनि लेबनानले आफ्नो आक्रामण निरन्तर जारी राख्यो। त्यसको तीन मिनेटपछि नै लायलाले गोलकिपर अञ्जिलालाई बिट गर्दै प्रहार गरेको बल पोस्टनजिकबाट बाहिरिँदा सुरुआती अग्रता लिन चुक्यो।
खेलको सुरुआती १५ मिनेट नेपाली डिफेन्डर व्यस्त रहे। तर, त्यसपछि भने नेपालले पनि आक्रामण बुन्यो।
१७औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर गुमाइन्। सबिता रानामगरको क्रसलाई हेडर गर्ने प्रयास गरेपनि सफल हुन सकिनन्। २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइडबाट बाहिरियो।
२६औं मिनेटमा विमला चौधरीको हेडर फितलो रह्यो। उनले यसअघि किर्गिस्तानविरुद्ध निर्णायक गोल गरेकी थिइन्। लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन्। त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन।
३१औं मिनेटमा लेबनानकी लायलाले अर्को अवसर बुनेकी थिइन्। तर, पेनाल्टी बक्समा अगाडी बढ्दै अञ्जिलाले सुन्दर बचाइ गर्दिइन्। नेपाललाई अग्रता लिन भने ४२औं मिनेटसम्म कुर्नुपरेको थियो।
साम्बाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुन पुग्यो।
५९औं मिनेटमा सावित्राले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो उनले रेखाको क्रसलाई सदुपयोग गर्ने प्रयास गरेकी थिइन्। दोस्रो हाफको इन्जुरी समयमा लेबनानले बराबरी गर्ने अवसर पुन: गुमायो। जावा अर्बिले पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको बल माथिल्लो बारमा लागेर फर्कियो।