काठमाडौं । थ्री स्टार क्लब र विभागीय टिम आर्मीले भुटानमा हुने जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेल्ने भएका छन् । भुटान फुटबल महासंघको निमन्त्रणालाई स्विकार गर्दै एन्फाले नेपालका दुई ए डिभिजन क्लबलाई भुटानको प्रतिष्ठित गोल्डकप खेल्न पठाउने निर्णय गरेको हो ।
काठमाडौंमा भएको सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारले तेस्रो स्थानमा रहँदै र आर्मीले चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष चार भित्र रहन सफल दुई क्लबलाई एन्फाले भुटानमा हुने गोल्डकपका लागि सिफारिस गरेको हो ।
एन्फाका महासचिव ईन्द्रमान तुलाधरका अनुसार प्रतियोगिता फेब्रुअरी १२ बाट सुरु हुनेछ । थ्री स्टारले आफ्नो पहिलो खेल फेब्रुअरी १६ मा खेल्नेछ । आर्मीको पहिलो खेल फेब्रुअरी १५ मा छ । नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताका खेल भुटान भारत सिमा क्षेत्र फुईटसोलिङ्गमा हुनेछ ।
भुटानको प्रतिष्ठित फुटबल प्रतियोगिता सन् २००६ यता हुन सकेको थिएन । सन् १९८७ बाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करण नेपालको जनकपुर टिमले जितेको थियो । पछिल्लो समय भारतको वेस्ट बंगालले गोल्डकपको ट्रफी उचालेको थियो ।
गोल्डकपमा भुटान सहित नेपाल र भारतक टिमले सहभागिता जनाउनेछन् ।