काठमाडौं । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लागि रुपन्देही च्यालेन्जर्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
धनगढीमा आयोजना हुने डीपीएलका लागि रुपन्देहीले हङकङका बाबर हायात र पाकिस्तानका पहिलो श्रेणीको क्रिकेट खेलाडी राजा अलि डरलाई अनुबन्ध गरेको हो । प्रत्येक टोलीले २ विदेशी खेलाडी अनिवार्य राख्नु पर्ने नियम अनुसार रुपन्देहीले बाबर र राजालाई अनुबन्ध गरेको हो ।
रुपन्देही च्यालेन्जर्सले आइतबार प्रेस विज्ञप्ति निकाल्दै दायाँ हाते ब्याट्सम्यान बाबर र बायाँ हाते ब्याट्सम्यान तथा स्पिनर राजालाई अनुबन्ध गरेको जनाएको छ ।
हङकङका बाबरले राष्ट्रिय टोलीबाट २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन् । यस्तै
राजाले लाहोरको लागि ६९ प्रथम श्रेणी र ६२ लिस्ट 'ए' क्रिकेट खेलीसकेका छन् ।
डीपीएलका लागि रुपन्देहीको रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन् । यस्तै टिममा बिनोद भण्डारी, ललित भण्डारी, भिम शार्की, प्रदिप ऐरि, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ल रहेका छन् ।
यस संस्करणको डीपीएल आगामी माघ २६ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।