काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय महिला फुटबल टिमका खेलाडीलाई विदाई गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित रुपक स्मृति भवनमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै एन्फाले महिला खेलाडीको विदाइ गरेको हो ।
निरु थापाको कप्तानीमा रहेको नेपाली टिम बुधबार झापा जाने कार्यक्रम रहेको छ । झापामा अभ्यास गरेर सोही स्थानबाट नेपाली टिम भारत प्रस्थान गर्नेछ ।
प्रमुख अतिथि बनेका दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्युले नेपाली खेलाडीलाई दोसल्ला लगाएर विदाइ गरेका थिए ।
विदाई कार्यक्रममा बोल्दै ग्युले ओलम्पिक छनोट हुन सफल नेपाली टिमलाई बधाई दिएका थिए । उनले ओलम्पिकमा नेपाली टिम र कोरियाली महिला टिम सँगै खेलेको हेर्न आतुर रहेको समेत बताए ।
कार्यक्रममा दक्षिण कोरियाली फुटबल संघका अध्यक्षले नेपाललाई करिब ९ सय थान खेल सामाग्री हस्तान्तरण गरेका थिए ।
भारतले आयोजना गर्ने तय भएको प्रतियोगितामा नेपाल सहित आयोजक भारत म्यानमार र श्रीलङ्का समावेश छन् । प्रतियोगिता माघ २३ देखि फागुन ५ गतेसम्म आयोजना हुदैछ ।
भारत जाने नेपाली टिम :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी
स्ट्राइकर : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता के सी ।