काठमाडौं। सोमबारदेखि घरेलु मैदानमा सुरु हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप नेपाली टोलीका लागि उपाधि खडेरी तोड्ने सुनौलो अवसरका रूपमा हेरिएको छ।
तर, प्रतियोगितामा सहभागी विपक्षी हेर्दा नेपालका लागि चुनौतीपूर्ण रहने आकलन गरिएको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ प्रतियोगिताको सुरुआत जितसँगै गर्न चाहन्छन्, जसका लागि पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान हुनेछ।
वरीयतामा नेपालभन्दा २५औं स्थान तल भए पनि किर्गिस्तान शारीरिक रूपमा बलियो टोली भएको तामाङ स्विकार्छन्। यस्तो अवस्थामा नेपालकी सर्वाधिक गोलकर्ता (५५) सावित्रा भण्डारी ‘साम्बा’ बिना नै टोली मैदानमा उत्रिने तयारीमा छ।
साम्बा सोमबार बिहान नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। तर, उनले पहिलो खेल खेल्ने निश्चित अझै भइसकेको छैन। फ्रान्सको शीर्ष श्रेणी क्लब अभान्ट ग्वेन्ग्याम्पबाट लिग खेलिरहेकी उनी शनिबार साबिक विजेता लियोनविरुद्ध मैदान उत्रिएकी थिइन्।
उक्त खेलमा ग्वेन्ग्याम्प ७–० ले पराजित भएसँगै क्लबले उनलाई रिलिज गरेको हो। उनी आइतबार नै नेपाल प्रस्थान गरिसकेकी छन्। तर, लामो यात्रा र छोटो विश्रामका कारण उनलाई पहिलो खेल आराम दिने सम्भावना प्रबल रहेको देखिन्छ।
‘उसले पहिलो खेल खेल्दैन होला। सायद उनी आराम गर्छिन् होला,’ प्रशिक्षक राजेन्द्र भन्छन्। साम्बाले पछिल्लो समय यो मैदानमा साफ महिला च्याम्पियनसिप २०२४ खेलेकी थिइन्।
क्लबले रिलिज गर्न ढिला गरेसँगै उक्त च्याम्पियनसिपमा पनि उनले भुटानविरुद्धको पहिलो खेल गुमाएकी थिइन्। नेपाल साफको फाइनलमा पुगे पनि उनले टोलीका लागि आफ्नो क्षमताअनुसार महत्त्वपूर्ण योगदान दिन सकेकी थिइन्। उक्त च्याम्पियनसिपभर जम्मा दुई गोल गर्दै उनी फ्रान्स फर्किएकी हुन्।
फ्रान्समा पनि उनले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्न सकेकी छैनन्। १५ मध्ये सात खेलमा मात्रै उनले सुरुआती ११ मा स्थान बनाएकी छन्। बाँकीमा भने उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी हुन्। उनले क्लबबाट एक गोल मात्रै गरेकी छन्।
हालको लयलाई ध्यानमा राख्दै प्रशिक्षक राजेन्द्रले उनलाई खेलाउने वा नखेलाउने योजना तय गर्नेछन्।