काठमाडौं। पछिल्ला केही सातादेखि २४ वर्षीय ब्राजिली खेलाडी भिनिसियस जुनियर साउदी अरब जाने चर्चा चलिरहेको छ। उनलाई अल–हिलालले भित्र्याउन खोजिरहेको छ।
यो त्यही क्लब हो, जुनबाट ब्राजिलका अर्का नेयमार निस्किएका थिए। उनी ब्राजिल फर्किएसँगै ठूलो नामको खेलाडी अनुबन्ध गर्न अल–हिलालले खोजिरहेको छ।
यदि भिनिसियस साउदी अरबतिर लागे भने रियलका लागि ठूलो झट्का हुनेछ। पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो तीन वर्षअघि साउदी लागेका थिए। यस्तोमा भिनिसियस पनि आर्थिक रूपमा सम्पन्न साउदी लिगतर्फ जाने सम्भावनाले चर्चा पाएको छ।
तर, रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भिनिसियस ठूलो तलबको लागि साउदी अरब जान सक्ने सम्भावनाले आफूलाई कुनै चिन्ता नरहेको बताएका छन्। ‘म चिन्तित छैन, किनभने उनी यहाँ खुसी छन्। म उनलाई अत्यधिक प्रेरित देख्छु,’ एन्सेलोटीले शुक्रबार आफ्नो स्टार फरवार्डबारे भने।
भिनिसियको हालको सम्झौता सन् २०२७ सम्म छ। उनले रियलबाट दुईपल्ट च्याम्पियन्स लिग र तीनपल्ट स्पेनिस ला लिगा उपाधि जितिसकेका छन्। साथै उनले २०२४ को बलोन डी’ओर पुरस्कारको मतदानमा दोस्रो स्थान हासिल गरेका थिए, जसमा म्यानचेस्टर सिटीका रोड्री विजयी भएका थिए।
एन्सेलोटी भन्छन्,‘उनी राम्रो खेलिरहेका छन् र यो क्लबसँग इतिहास बनाउन चाहन्छन्।’ भिनिसियसले आफू साउदी जानेबारे कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन्। तर, उनले हालै रियलसँग सम्झौता थप्नेबारे छलफल भइरहेको बताएका छन्।
‘भगवानको इच्छा भएमा हामी चाँडै सम्झौताका कुरा टुंग्याउनेछौं र म अझै लामो समयसम्म यहाँ बस्न सक्नेछु,’ भिनिसियसले म्यानचेस्टर सिटीविरुद्ध ३–२ को जितपछि भनेका थिए।