एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा दोस्रो स्थानको नापोली बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा नापोलीले एसी मिलानसंग गोलरहित बराबरी खेलेको हो।
मिलानको मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीले मिलानको पोष्ट आधा दर्जन बढी आक्रमण गरेको थियो । तर, नापोलीले गोल गर्न सकेनन् ।
यस्तै खेलको ९० औं मिनेटमा फाबियन रुइजले रातो कार्ड पाएपछि नापोली अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।
यो बराबरीसंगै नापोलीले लिग लिडर युभेन्ट्ससंगको अंक दुरी घटाउने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको नापोलीले २१ खेलबाट ४८ अंक जोडेको छ ।
यो बराबरीले युभेन्ट्सलाई भने फाइदा पुगेको छ । युभेन्ट्सको २० खेलबाट ५६ अंक छ । लिगको चौथो स्थानमा रहेको मिलानको ३५ अंक छ ।