काठमाडौं। घरेलु मैदानमा हुने इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा धेरै परिवर्तन नहुने भएको छ।
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता रहे पनि समय अभावका कारण केही ठाउँमा मात्रै नयाँ खेलाडी ल्याउने तयारी गरिएको बताएका हुन्।
‘अहिले तीन नयाँ खेलाडी चाहिँ टोलीमा राख्नै पर्छ। तर, समय कम छ। दुई हप्ताको मात्रै समय पाएको हुँदा क्षमता खेलाडी देखिए पनि प्रयोग गर्न सकिँदैन,’ उनले भने।
गत कात्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप सकिएसँगै राजेन्द्रले कम्तीमा ११ जना खेलाडीको विकल्प खोज्नुपर्ने बताएका थिए। तर, बन्द प्रशिक्षणमा रहेका ३० मध्ये अधिकांश खेलाडी सोही च्याम्पियनसिप खेलेका छन्।
अन्तिम टोलीमा पनि प्राय: पुरानै खेलाडी दोहोरिने सम्भावना प्रबल छ। ‘हीराकुमारी भुजेल र दिपा शाही घाइते छन्। अमिषा कार्की पनि नहुने भएको कारण तीन नयाँ खेलाडी त खोज्नै पर्छ। फेरि यो साफजस्तो होइन। साफमा भइदिएको भए श्रीलंका र माल्दिभ्सजस्ता टोलीलाई डोमिनेट गर्न सकिन्थ्यो। तर, यहाँ टोली फरक छन्,’ उनले भने।
उनका अनुसार फरवार्ड, मिडफिल्ड र डिफेन्समा समान एक नयाँ खेलाडी देखिने छन्। अन्य पोजिसनमा भने पुरानै खेलाडीले निरन्तरता पाउने छन्।
‘टेक्टिकल चेन्जेज आयो भने मलाई गाह्रै बनाउँछ। त्यसैले मैले नयाँ खेलाडीलाई तुरुन्तै ल्याउनेबारे केही सोचेको छैन। त्यही भएर सिनियर खेलाडी परिवर्तन हुने छैनन्,’ उनले भने।