काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई भरपर्दा खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल आक्रमणपंक्तिको मेरुदण्ड मानिन्छन्।
जब एक खेलाडीको प्रदर्शन कमजोर हुन्छ, अर्कोले टोलीलाई उकास्ने काम गर्दै आएका छन्। गत कात्तिकमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा साम्बाको प्रदर्शन फितलो हुँदा रेखाले नै सात गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याएकी थिइन्।
तर, दुर्भाग्य सेमिफाइनलमा भारतविरुद्ध पाएको रातो कार्ड भने उनले फाइनल खेल्नै पाइनन्। यद्यपि, राष्ट्रिय टोलीलाई नजिकबाट नियालेका केही प्रशिक्षकको भनाइ भन्छन्– यी दुई उत्कृष्ट खेलाडीबीच चरम गुटबन्दी छ।
यी दुईबीचको जोडी कहिल्यै मिल्दैन। उनीहरू मात्रै होइन, अन्य सिनियर खेलाडी पनि यसरी नै गुटबन्दीको सिकार भइरहेका छन्। कारण हो, विभागीय टोली। नेपाली राष्ट्रिय टोली एपिएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तीन विभागबाट बनेका छन्।
यी तीन टोलीका खेलाडीबीच आफ्नो विभागलाई उत्कृष्ट देखाउने जुहारी नै चलिरहन्छ। यी खेलाडीले एकले अर्कोको प्रदर्शन खराब देखाउन कुनै कसर नै छाड्दैनन्। बल पाए पनि आफ्नै विभागका खेलाडीलाई पास गरिरहेका हुन्छ। रोक्न जान परे पनि आफ्नैलाई सहयोग गर्न तल झर्छन्।
तर, अर्को विभागका खेलाडीलाई भने कुनै वास्ता नै गर्दैनन्। त्यसैले राष्ट्रिय टोलीमा व्यापक रूपमा तालमेल बिगार्ने काम भइरहेको छ। फलत: गुटबन्दी र मतभेदका कारण नेपाली टोलीले क्षमताअनुसारको प्रदर्शन गर्न सकेको छैन। यो कुरा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पनि खुलेर स्विकार्छन्। भन्छन्, ‘हो पहिला टिममा गुटबन्दी थियो, देखिन्थ्यो।’
११ महिनाको बीचमै राजेन्द्र तेस्रोपल्ट नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। गत फागुनमा वाफ च्याम्पियनसिप खेलेदेखि उनले नेपाली टोली सम्हालिरहेका छन्। उक्त प्रतियोगितामा जोर्डनसँग पराजित हुँदै उपविजेतामा सीमित भएको नेपालले साफको फाइनलमा पनि बंगलादेशसँग हार बेहोरेको थियो।
अहिले उनकै टोलीले घरेलु मैदानमा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तानसम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्दैछ। लामो समय टोली समालिसकेका राजेन्द्र पटकपटक उपाधिनजिक पुगेर पनि चुक्नुमा टोलीमा देखिएको गुटबन्दी नै मान्छन्। तर, तेस्रोपल्ट नेपाली टोली सम्हाल्न आइपुगेका उनै राजेन्द्रले अहिले भने उक्त गुटबन्दी सकिसकेको दाबी गरेका छन्।
‘पहिला हेर्दा गुटबन्दी देखिन्छ। तर, अहिले खाना खान बस्दा पनि आफ्नो विभागका सँग मात्रै नभई अन्य विभागका खेलाडीसँग पनि बसेर खाना खाइरहेका हुन्छ। राम्रोसँग बोलिरहेका हुन्छन्। अहिलेको माहौल देख्दा त्यो गुटबन्दी सकिसकेको देखिन्छ,’ उनले भने।
राष्ट्रिय टोलीमा पुनः फर्किएपछि आफूले पनि उक्त गुटबन्दी समाप्त गर्न सक्दो प्रयास गरेको उनी बताउँछन्। ‘पोजिसनको कुरामा आफ्नो विभागको खेलाडी खोज्ने भन्दा पनि नेपाली टोलीका खेलाडी खोज्नुपर्छ भनेर मैले सम्झाएको छु। अर्को विभागको खेलाडी दौडिन्छ म दौडिनन् हुँदैन भन्ने पनि देखिन्थ्यो। तर, फुटबलमा त्यसो हुनुहुँदैन। आइपरेको समयमा अर्को विभागको खेलाडीलाई सहयोग गर्न दौडिन पर्छ। हामीले खेल्ने राष्ट्रको लागि हो,’ उनी भन्छन्।
राष्ट्रको जर्सी लगाउँदा सबै खेलाडीले गर्व गर्नुपर्ने हो। राष्ट्रलाई जिताउन सामूहिकता पनि देखाउनुपर्ने हो। एकले नसके अर्कोले सहयोग गर्नुपर्छ भन्ने भावना मैदानमा देखिनुपर्ने हो। तर, नेपाली राष्ट्रिय टोलीका खेलाडीबीच त्यो भावना देखिँदैन। अझ कतिसम्म भने एक विभागका खेलाडी अर्को विभागका खेलाडीसँग कमै बोल्ने गरेका छन्। यस्तो हुँदा बारम्बार राष्ट्रका लागि नै घातक भएको राजेन्द्र स्वीकार्छन्।
‘पहाड फुटाउन सबै जना लाग्नुपर्छ, म एक्लै त सक्दिन नि!’ उनी भन्छन्, ‘मैले राष्ट्रिय टोलीमा आएपछि राष्ट्रका लागि काम गर्ने हो र तिमीहरूले पनि राष्ट्रकै लागि काम गर्ने हो भनेर सम्झाएको छु। उनीहरूले पनि यो कुरा बुझिसकेका छन् भन्ने मलाई लाग्छ।’