बारा । दशौँ संस्करणको सिमरा गोल्डकप फुटबलको उपाधि ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले जितेको छ ।
पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने क्रममा थ्री स्टारले शनिबार विभागीय त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ७–६ ले पराजित गरेको हो ।
उपाधिसंगै थ्री स्टारले ६ लाख प्राप्त गर्यो । उपविजेता आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । सिमरा रंगशालामा थ्री स्टारले उपाधिसंगै विधागत उपाधिमा समेत वर्चश्व कायम गरेको छ ।
थ्री स्टारलाई उपाधि जिताउन प्रतियोगिता भरि उत्कृष्ट खेल पस्केका युवा स्ट्राइकर सुशिल राई प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरे ।
यस्तै थ्री स्टारलाई फाइनल खेल जिताउन ३ पेनाल्टी रोकेका गोलरक्षक एलन न्यौपाने उत्कृष्ट गोलरक्षक चुनिए । डिफेन्डरमा थ्री स्टारकै विदेशी खेलाडी डौम्विया उत्कृष्ट घोषित भए भने प्रशिक्षकमा मेघराज केसी उत्कृष्ट चुनिए ।
त्यस्तै त्रिभुवन आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर चुनिदा आर्मीकै टंक बस्नेत उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समान २०/२० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको फेयर प्ले अवार्ड आयोजक नव जनजागृति युवा क्लब पाएको छ । यस्तै प्रतियोगिताको उदयमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका निकेश थापा भएका छन् । उनले १५ हजार रुपैया प्राप्त गरे ।