काठमाडौं। ह्यारी मगायरले इन्ज्युरी समयमा विवादास्पद गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पुनरागमन जित दिलाएका छन्। योसँगै युनाइटेड एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
पहिलो हाफमा लेस्टर सिटीले बोबी डी कोर्डोभा–रिडको गोलबाट अग्रता लिएको थियो। तर, जोसुआ जिर्क्जेले ६८औं मिनेटमा बराबरी गोल गरे भने मगायरले इन्ज्युरी समयमा निर्णायक गोल गर्दै युनाइटेडलाई ऐतिहासिक जित दिलाए।
मगायरको गोललाई लिएर ठूलो बहस भएको थियो। लेस्टरका प्रशिक्षक रुड भान निस्टेलरोयले उनी अफसाइडमा रहेको बताए पनि एफए कपमा भिएआरको व्यवस्था नभएकाले गोल मान्य भएको थियो।
‘यो हार आवश्यक थिएन,’ असन्तुष्ट निस्टेलरोयले भने, ‘यो आधा मिटर अफसाइड थियो। अतिरिक्त समय पुगेको भए खेलमा केही पनि हुन सक्थ्यो। हामीलाई पेनाल्टीसम्म पुग्ने अवसर मिल्नुपर्ने थियो। यस्तो निर्णय हाम्रो स्तरमा पचाउन गाह्रो हुन्छ।’
यो जितसँगै युनाइटेडले इतिहास रच्दै एकै सिजनमा लेस्टरलाई तीन पटक घरेलु मैदानमा हराएको छ। यसअघि युनाइटेडले लेस्टरलाई लिग कपमा ५–२ र प्रिमियर लिगमा ३–० ले हराएको थियो।
‘खेलको उत्कृष्ट अन्त्य भयो। दोस्रो हाफमा हामीले राम्रो प्रदर्शन गर्यौं। पहिलो हाफ पर्याप्त थिएन। गार्नाचोले उत्कृष्ट प्रभाव छोडे। उनी सधैं तयार र केन्द्रित हुन्छन्,’ मगायरले भने। यो जितसँगै युनाइटेडले नयाँ प्रशिक्षक अमोरिमलाई ठूलो राहत प्रदान गरेको छ भने लेस्टरका लागि यो हार निराशाजनक रह्यो।